कविता : सन्देश
— हृदय लेकाली
(शार्दूलविक्रीडित छन्दमा)
नेताकै वय झोकले मुलुक यो साह्रै बिरामी भयो
सारा यी जनका अनेक सपना हावा सरी नै भयो।
राम्रो काम भएन देशभरमा उल्टै लडाई भयो
भ्रष्टाचार भयो अशान्ति जनमा नेता दलाली भयो।।
सत्ताको छ लुछाचुँडी दिन दिनै आदर्श पैरो गयो
चिन्ताग्रस्त छ देश यो हरघडी सर्कार बैह्रो भयो।
ठूला यी दलका भए पृथक लौ गद्दार नेता भए
आफ्नै मात्र अगस्ति पेट यिनले भोरेर घ्याम्पो भए ।।
स्वाहा भो ढुकुटी यहाँ मुलुकको गाह्रो भयो जीवन
चुर्लुम्मै छ नि देश आज रिनले भोका र नाङ्गा जन।
चौतर्फी जनमा उदासिन छ लौ नेता भए दुर्जन
घोट्दा हाड सधै भए नि जनता रित्तो र खोक्रोपन।।
भारी भोट चुनावमा बहुमतै ल्याएर अल्झ्यौ किन
आफ्ना ती टकरावले पतनको खोज्यौ नि गिर्नेदिन।
नेपाली जनता सधै मुलुकमा साह्रै बनायौ तल
के गर्छौ अब लौ यहाँ दिनदिनै जात्रा लगाई दल ?
ढल्यो संसद देशको भन तिमी जित्छौर ढुक्कैभन?
व्यर्थै भो मतदानबाट यसरी छानेर गाको जन ।
थोत्रा ती मुखका अतीत सपना बोकी नआऊ अब
नेपाली जनता सचेत हुनु नै कल्याण होला सब।।
- भैरहवा – २०७७/०९/१३
