कविता : हामी पनि केही त हौँ
— कमल श्रेष्ठ
हामी
आत्मरक्षको आधार बनेका
तर अहिले
प्रयोजन बिहीन
परित्यक्त
बन्दुकका गोलीका “खोका” हौँ कि
अथवा
भोकमरी पीडितले
बेसाहा नपाएर
फर्कँदै गरेका
रित्ता “डोका” पो हौँ कि
अथवा
जोसुकैलाई
जेसुकै गर्न पनि
प्रवेश गर्न पाउने
थोत्रा घरका
खापा बिहीन “ढोका” पो हौँ कि
थाहा छैन
बनाउँदै छौँ कि बिगार्दै छौँ
भत्काउँदै छौँ कि सिँगार्दै छौँ
च्यात्दै छौँ कि सजाउँदै छौँ
मार्दै छौँ कि बचाउँदै छौँ
त्यसैले
हामी आफैलाई “धोका” पो हौँ कि
लक्ष हीन
समाधान हीन
चक्रब्यूहमा फँसेका
समस्यै समस्याका “पोका” पो हौँ कि
हुनत हौँ
हामी पनि केही त हौँ
क्षणिक
निमेषभरका
पानीका “फोका” पो हौँ कि
अथवा
बलीका लागि मन्साइएका “बोका” पो हौँ कि
हुन त हौँ
हामी पनि
पक्कै केही त हौँ ।
Dec 22, 2020 (Face Book)
