काेराेना बीमाकाे दाबी भुक्तानी लिन धैर्य गर्न बीमा समितिकाे आग्रह
इन्भेष्टाेपेपर । मङ्सिर २६, २०७७
काठमाडौँ । पछिल्ला दिनमा कोरोना बीमा दाबीमा गुनासो आइरहेपछि नियामक निकाय बीमा समितिले बिहीबार स्पष्टोक्ति दिएको छ । आमगुनासोपछि अर्थ मन्त्रालयले कारोना बीमाको अविलम्ब भुक्तानी गर्न बारम्बार ताकेता गरेपछि समितिले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएको हो ।
साथै कोरोना बीमा दाबी भुक्तानीका लागि केही समय धैर्य गर्न बीमितलाई समितिले आग्रह पनि गरेको छ । समितिले पछिल्लो समय कोरोना सङ्क्रमण भएको र उक्त अवधिको दाबी भुक्तानीका लागि चाप पर्न गएकाले दाबी भुक्तानीमा समस्या परिरहेको जनाएको छ ।
समितिको तथ्याङ्कअनुसार बुधबारसम्ममा कागजपत्र पूरा भएका १७ हजार २३५ वटा दाबी परेका छन् । यस्तै प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा चार हजार १५२ वटा दाबी पठाएको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट दुई हजार ४९३ वटा प्रमाणित भएर आएका छन् । हालसम्म आठ हजार १४५ वटा दाबी भुक्तानी भएको छ । यस्तै सबै कागजपत्र पूरा भएर नौ हजार ९० वटा दाबीका लागि भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ । यसैगरी कागजपत्र नपुगेका एक हजार १३६ वटा आवेदन पुनः निर्जीवन बीमा कम्पनीहरूमा फिर्ता पठाइएको समितिले जनाएको छ ।
बीमा समितिले चार कारणले कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको जनाएको छ । समितिले कोरोना बीमा मापदण्डअनुसार आवश्यक कागजपत्र पूरा नभई पुल व्यवस्थापक शिखर इन्स्योरेन्समा पठाउने गरेको जनाएको छ । समितिले सबै निर्जीवन बीमा कम्पनीलाई दाबी भुक्तानीका लागि आवश्यक कागजपत्र हेरेर रुजु गरेर मात्रै पठाउनसमेत निर्देशन दिएको छ ।
कोरोना बीमा मापदण्डअनुसार कोरोना बीमाको दायित्व बीमा समिति र नेपाल सरकारको समेत हुने भएकाले यसको लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने हुँदा कोरोना बीमा मापदण्डअनुसार कतिपय विषयमा स्पष्ट नभएको, कोरोना परीक्षण रिपोर्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा भेरिफिकेसनका लागि पठाउनु पर्दा दाबी भुक्तानीमा ढिलाइ भएको समितिले जनाएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।
