कोभिडका कारण मानसिक समस्या भएका बिरामी बढे

इन्भेष्टाेपेपर । माघ २२, २०७७

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक समस्या भएका बिरामीको सङ्ख्या बढेको छ । मुलुकमा फैलिएको कोभिड महामारीपछि पाटनमा सो रोगका बिरामी बढ्न थालेका हुन् ।

मुलुकमा देखिएको कोरोना कहर, लामो समय भएको बन्दाबन्दी, फुर्सदको समयमा बढेको तनाव र जाँडरक्सी सेवनका कारण मानसिक समस्याका दैनिक दुईदेखि तीन जना मानिस अस्पतालमा उपचारका लागि आउन थालेका निर्देशक डा रवि शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “यस्तो समस्या भएका बिरामीका लागि अस्पतालले ३० श्यया व्यवस्था गरेको छ, यी श्यया अहिले सधँैजसो भरिभराउनै हुन्छन्, सानो बच्चामा सो रोग लागेको थाहा नभएर हो या समस्या नै नभएर हो उपचारमा आएका छैनन् भने १५ देखि ५५ वर्ष उमेर समुहका मानिस आउने क्रम बढेको छ ।”

विगत १० वर्षअघिदेखि पाटन अस्पतालले मानसिक समस्या भएका बिरामीलाई उपचार सेवा दिँदै आएको छ । सो अस्पतालले कोरोनाका बिरामीलाई पहिलो प्राथमिकतामा राखी उपचार सेवा दिन शुरु गरेसँगै ननकोभिड बिरामी उपचार गराउन आउनेको सङ्ख्या १० देखि ३० प्रतिशतमा झरेको थियो । मङ्सिर पहिलो साताबाट अस्पतालले पूर्ववतरुपमा सबै कर्मचारी बोलाएर ननकोभिड उपचार सेवा सञ्चालन गरेसँगै ५० प्रतिशत सङ्ख्यामा बिरामी आउन थालेका अस्पतालले जनाएको छ ।

अस्पतालमा महामारीअघि दैनिक एक हजार ८०० देखि दुई हजार २०० सम्मले बहिरङ्ग सेवा लिने गरेकामा हाल लगभग एक हजारले सो सेवा लिन थालेका डा शाक्यको भनाइ छ । अस्पतालमा आँखा र मुटु रोग उपचार सेवा दिन नसक्दा यसतर्फ जोड दिनुपर्ने डा शाक्यले आैंल्याउनुभयो । अस्पतालमा दुई महिनाअघिदेखि ५० भन्दा कम सङ्ख्याका कोरोनाका बिरामीले उपचार सेवा लिइरहेका जनाइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *