कोरोनाभाइरस: डब्लूएचओको चेतावनी केही दिनमै सङ्क्रमितको सङ्ख्या १० लाख पुग्ने
इन्भेष्टोपेपर।चैत्र २०, २०७६
विश्व महामारी कोरोनाभाइरस आउँदा केही दिनभित्रै सङ्क्रमितको सङ्ख्या दश लाख पुग्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का प्रमुखले बताएका छन्। डब्लूएचओले सावधानीका उपाय बारेको आफ्नो सुझाव परिमार्जन गर्दै अनुहार ढाक्ने मास्कहरूको प्रयोगलाई प्रोत्साहन गर्ने विषयमा छलफल गर्न लागेको पनि जनाएको छ। जोन्स हप्किन्स विश्वविद्यलायको तथ्याङ्क अनुसार पुष्टि भएका कोरोनाभाइरस सङ्क्रमणको संख्या ९ लाख ३७ हजार १७० रहेको छ भने ४७ हजार २ सयभन्दा बढीले ज्यान गुमाएका छन्।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका प्रमुखले कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरू निकै उच्च गतिमा बढेर गत साता दोबरभन्दा बढी पुगेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै विश्वभरि कुल जनसङ्ख्याको आधा मानिस कुनै किसिमको नियमनको अवस्थामा रहेको बताइएको छ।
टेड्रस एड्हानोम गेहब्रेयससले भने, “आउँदा केही दिनमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या विश्वमा दश लाख र मृत्यु हुनेको ५० हजार पुग्नेछ। यो विश्वको सबैजसो देश वा क्षेत्रमा पुगेको छ।”

डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्। यसैबीच डब्लुएचओ, विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्।
अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव
अमेरिकामा कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि संघीय सरकारसँग मौजुद रहेका सुरक्षा र स्वास्थ्य सामग्रीहरू सकिन लागेको, द वासिङ्टन पोष्ट पत्रिकाले जनाएको छ।
होमल्याण्ड सेक्युरिटी मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै पत्रिकाले बढ्दो मागका बीच– संघीय सरकार एवं राज्यहरूबीच सुरक्षित रहने सामग्रीमा प्रतिस्पर्धा हुने अवस्था आएको जनाइएको छ र त्यसले नाफाखोरहरू मौलाएको बताइएको छ।
ट्रम्प प्रशासनले भने पर्याप्त सामग्रीहरू पाउन सक्ने अवस्थामा रहेको र त्यसका लागि १६ अर्ब डलर रकम छुट्याइएको दाबी गरेको छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा झण्डै ९ सय जनाले कोभिड-१९ को कारण ज्यान गुमाएको एउटा तथ्याङ्कमा जनाइएको छ र त्यो हालसम्मकै एकदिनमा भएको सर्वाधिक मृत्युको संख्या हो। कनेटिकटमा एकजना ६ हप्ताका नवजात शिशुको ज्यान गएको छ जसलाई कोभिड १९ का कारण अमेरिकामा ज्यान गुमाउने हालसम्मकै सबैभन्दा कम उमेरको व्यक्ति भनिएको छ।
यसबीच अमेरिकामा सङ्क्रमितको सङ्ख्या दुई लाख नाघेको छ। मृतकको संख्या ५ हजार नाघेको छ। सङ्क्रमितको आधाजसो न्यूयोर्क राज्यमा छन्।
ब्रिटेनमा सरकारमाथि बढ्दो दबाब
ब्रिटेनमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै धेरै ५६३ जनाले ज्यान गुमाएका छन्। मृतकको सङ्ख्या झण्डै एक तिहाइले बढेसँगै ब्रिटिश सरकारले उच्च दबाब सामना गरिरहेको छ।
अग्रमोर्चामा काम गर्ने स्वास्थकर्मीलाई सुरक्षा सामग्री अभाव भइरहेको, जाँचको काम तीब्र गतिमा अगाडि बढाउन ढिलो भइरहेको भन्दै लण्डनको आलोचना समेत भइरहेको छ।
तीन हजारभन्दा बढी स्वास्थकर्मीको अहिलेसम्म जाँच गरिएको बताइए पनि त्यो कुल स्वास्थ्यकर्मीको निकै सानो अनुपात हो। यो समाचार आजको बीबीसी न्यूजमा प्रकाशित भएको छ।
