गजल : देखिनँ खै हिजोआज
– हृदय लेकाली, भैरहवा
देखिनँ खै हिजोआज राम जस्तो राम
देखिनँ खै धरतीमा घाम जस्तो घाम।
भोगी भए भक्त पनि देवी द्यौता उस्तै
देखिनँ खै कहीँ पनि धाम जस्तो धाम।
साथ मिल्थ्यो मर्दापर्दा सुनसान आज
देखिनँ खै पहिलेको गाम जस्तो गाम।
स्वार्थै स्वार्थ भरिएछ आज दुनियाँमा
देखिनँ खै चित्त बुझ्ने काम जस्तो काम।
अत्याचार दुराचार बढ्यो जताततै
देखिनँ खै मनोरम ठाम जस्तो ठाम ।
दम्भको छ चुरीफुरी सानो कोही छैन
देखिनँ खै सेवामुखी नाम जस्तो नाम।
