गणतन्त्र कङ्गोमा राष्ट्रपतिको चुनाव, एन्गुसो पुन: राष्ट्रपति उम्मेदवार

इन्भेष्टोपेपर । चैत्र ०८, २०७७

ब्राजभिल — मध्य अफ्रिकी मुलुक गणतन्त्र कङ्गोमा आइतबार राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । तर यस चुनावमा मुख्य विपक्षीहरुले बहिस्कार गर्ने बताएका छन् । यस चुनावमा ७७ वर्षीय डेनिस सासौ एन्गुसो पुनः निर्वाचित हुने अनुमान गरिएको छ । चुनावमा छ जना प्रतिस्पर्धी छन् । एन्गुसोका मुख्य प्रतिस्पर्धी ठानिएका गुए–ब्राइस पार्फेट कोलेलास गम्भीर स्वास्थ्य समस्या देखाउँदै चुनावी मैदानबाट अलग हुनु भएको छ । 

पूर्व सैनिक एन्गुसो सन् १९७९ मा पहिलो पटक सत्तामा आउनु भएको थियो, र त्यसयता ३६ वर्ष कङ्गोको शासनमा हुनुहुन्छ । उहाँ विश्वमै सबैभन्दा लामो समय शासन गर्ने एक नेता बन्नु भएको छ ।मध्य अफ्रिकाको तेल निर्यातक मुलुक कङ्गोको चौथो कार्यकालका लागि चुनावी मैदानमा उत्रनु भएका एन्गुसोले पहिलो चरणमै आफू विजयी हुने अपेक्षा गर्नु भएको छ । कङ्गोको संविधानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा दोस्रो चरणको मतदान हुने व्यवस्था छ । 

यसैबीच, एन्गुसोलाई चुनौती दिने ठानिएका मुख्य प्रतिस्पर्धी कोलेलासले एउटा भिडियो सन्देश सार्वजनिक गर्दै आफू गम्भीर बिरामी भएको र “जीवन र मृत्युको दोसांधमा पुगेको” बताउनु भएको छ । कोलेलासको चुनावी अभियानले ६० वर्षीय आफ्ना नेतामा के रोग लागेको छ भन्ने केही बताएको छैन । उनीहरुको भनाईमा थप उपचारका लागि नेता कोलेलासलाई विदेश लैजाने तयारी गरिएको छ । सन् २०१६ को राष्ट्रपति निर्वाचनमा दोस्रो स्थान हासिल गर्नु भएका कोलेलासले यसपटक राम्रै नतिजा हासिल गर्ने अनुमान गरिएको थियो । 

कङ्गोको क्याथोलिक चर्चले यसपटक पनि राष्ट्रपतिको चुनावमा धाँधली हुन खतरा देखिएको भन्दै आपत्ति जनाएको छ ।  सन् २०१६ झैं आइतबारको चुनावअघि देशव्यापी इन्टरनेट बन्द गर्न लागिएको र मतदानको पारदर्शिता शंकास्पद रहेको चर्चको भनाई छ ।सबैभन्दा ठूलो विपक्षी समूह प्यान–अफ्रिकन युनियन फर सोसल डेमोक्रेसी (युप्याड)ले पनि चुनाव बहिस्कार गरेको छ । पूर्व राष्ट्रपति पास्कल लिस्सोबाले खोल्नु भएको युप्याडबाट राष्ट्रिय सभामा मुख्य विपक्षीको रुपमा प्रतिनिधित्व रहेको छ । 

प्रजातान्त्रिक गणतन्त्र कङ्गो र ग्याबोनले घेरिएको यस पूर्व फ्रान्सेली उपनिवेशको मुख्य आम्दानीको स्रोत खनिज तेल हो । सन् १९७९ मा पहिलो पटक सत्तामा आउनु भएको एन्गुसो सन् १९९१ मा बहुदलीय प्रतिस्पर्धाका लागि राजी हुनु भएको थियो । अर्को वर्ष भएको चुनावमा उहाँ र उहाँको पार्टी पराजित भएको थियो । गृहयुद्धमा फँसेको कङ्गोमा सन् १९९७ मा उहाँ पुनः सत्तामा आउनु भएको थियो । त्यसयता उहाँ लगातार विजयी हुँदै आउनु भएको छ । सन् २०१५ मा भएको संविधान संशोधनले ७० वर्षभन्दा माथिका व्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार हुन पाउने र दुई वर्ष कार्यकाल पनि हटाएपछि एन्गुसो पुनः उम्मेदवार हुनु भएको थियो । (रासस–एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *