गद्य कविता : “आमा”
— हृदय लेकाली (राम बस्नेत)
तिमी खुसी छौ
गुराँस जस्तै
तिमी ढुक्क छौ
सगरमाथा जस्तै
तिमी निश्चिन्त छौ
प्रकृति जस्तै
लाग्छ यति बेला
यो जिज्ञासा पोख्ने
आमा नहुनेले
आमा हुनेसित हो ।
आमा हुँदिहुन् त
आमा नहुनेको मन
उज्यालो हुन्थ्यो दीयो जस्तै
घर आँगन सबै परिवेश
आमामय हुन्थ्यो
खुसी खुसीका सुनगाभा झुल्थे मनैभरि
दिव्य उज्यालो खुल्थ्यो मनैभरि
मनहरु कति रमाउँथे आमाको अगाडि
जसका आमा खोसिए संसारबाट।
आमा हुने हो
नगुमाउ आमालाई मनबाट
नदुखाउ आमालाई विश्वासबाट
नरित्याउ आमालाई खुसीबाट
आमा घरकी उज्यालो जून हुन्
आमाको ज्योतिमा धपक्क बोल
आमा सहारा हुन् धर्तीकी
आमाको भरोसा गर
आमा साक्षात् परमेश्वरी हुन्
आमाको आशीर्वाद थाप ।
प्रिय आमा हुनेहरु हो
आमालाई नगुमाऊ मनबाट
आमालाई नरित्याऊ आफूबाट
आमा भएर त तिमी पूर्ण छौ
आमाको साथले तिमी सर्वस्व छौ
आमा रहुञ्जेल
आमाको मन नदुखाउ
आमाको मन दुख्यो भने
तिमी तिमी होइनौ
तिमी धर्तीकैअभिशाप हुनेछौ।
— सिद्धार्थनगर, रूपन्देही
