चीन सन् २०२८ सम्ममा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र हुने
इन्भेष्टाेपेपर । पुष १२, २०७७
चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ।
यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदन अनुसार कोभिड-१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ। सेन्टरले प्रत्येक वर्ष डिसेम्बर २६ मा आफ्नो प्रतिवेदन सार्वजनिक गर्छ।
भारतको अर्थतन्त्र भने सन् २०३० मा विश्वकै तेस्रो ठूलो हुने अनुमान गरिएको छ। भारतले सन् २०२४ मा यूकेलाई, सन् २०२७ मा जर्मनीलाई र सन् २०३० मा जापानलाई पछाडि पार्ने अनुमान गरिएको छ।
चीनमा कोरोनाभाइरस पहिले देखिएको भए पनि यसले छिटै कडा प्रावधान लागु गरेर नियन्त्रण गरेको परिणाम स्वरूप सन् २०२० मा अन्य ठूलो अर्थतन्त्रहरूमा मन्दी देखिए पनि चीनको अर्थतन्त्र दुई प्रतिशतले बढ्ने देखिएको प्रतिवेदनमा उल्लेख गरिएकाे छ।
अमेरिकी अर्थतन्त्र भने सबैभन्दा नराम्ररी थलिएको छ। अर्थतन्त्रमा भएको प्रभावलाई मौद्रिक नीति र आर्थिक सहयोगले कम गर्न खोजिएको छ तर त्यहाँ देखिएको राजनीतिक असहमतिका कारण नयाँ वर्षमा एक करोड ४० लाख मानिसले बेरोजगारी भत्ता सुविधा नपाउने हुनसक्छ।
प्रतिवेदनका अनुसार सन् २०२१ मा कोभिड-१९ बाट अर्थतन्त्रमा सुधार आएपछि अमेरिकामा सन् २०२२ देखि सन् २०२४ सम्म १.९ प्रतिशतले अर्थतन्त्र वृद्धि हुनेछ भने त्यसपछि १.६ प्रतिशतमा वृद्धि हुनेछ।
चीनको अर्थतन्त्र भने सन् २०२५ सम्म ५.७ प्रतिशतले बढ्ने र सन् २०२६ देखि सन् २०३० सम्म ४.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
सन् २००० मा विश्वको कुल अर्थतन्त्रको ३.६ प्रतिशत अंश रहेको चीनको भने अहिले १७.८ प्रतिशत रहेको छ र सन् २०२३ मा चीन विश्वकै सबैभन्दा उच्च आम्दानी भएको अर्थतन्त्र हुनेछ।
चीनको अर्थतन्त्र बलियो हुनुका कारण कोभिड-१९ मात्र नभई ठूलो उद्योगलक्षित नीतिहरू पनि भएको सेन्टरका उपाध्यक्ष डगलस म्याकविलियम्सले बताए।
— बीबीसीबाट
