डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि.द्वारा कृषि वित्त तालिम सम्पन्न
Investopaper, भाद्र २५, २०७६
काठमाण्डाै — डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि. ले हालै “क”वर्गका वाणिज्य बैंकहरुका कर्मचारीहरुकाे लागि संचालित दुई दिने कृषि वित्त तालिम (Agricultural Sector Finance Training ) सम्पन्न गरेकोछ । उक्त तालिममा ९ बटा वाणिज्य बैंकका २३ जना कर्मचारीहरु सहभागीहरू रहेका थिए ।
विगत लामो समयदेखि कृषि विकास बैकले कृषि क्षेत्रलाई केन्द्रित गरी कर्जा लगानी गरिरहेकोमा गत आ.व. देखि सबै वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जा तथा सापटको १० प्रतिशत अनिवार्य रुपमा कृषि क्षेत्रमा मात्र लगानी गर्नुपर्ने बाध्यात्मक ब्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । यस अघि कृषि र उर्जामा १५ प्रतिशत कर्जा लगानीगर्नु पर्ने ब्यवस्था रहदा बाणिज्य बैंकहरुले उर्जा क्षेत्रमा कर्जा लगानी केन्द्रित गर्दै आएका थिए ।
कृषिकर्जा लगानीको अनुभव कम भएकाले अधिकांश “क” वर्गका बैंकहरुलाई प्रभावकारी रुपमा कर्जा कार्यक्रम संचालन गर्न असहजता भइरहेको अवस्था थियाे । यस प्रकारको तालिमबाट “क”वर्गका वाणिज्य बैंकहरुलाई गुणस्तरीय कृषिकर्जा प्रवाहगर्न सघाउ पुग्ने समेत अपेक्षा गरिएको छ ।
वणिज्य बैंकका कर्मचारीहरुलाई कृषिकर्जाको विश्लेषण सम्बन्धमा आवश्यक सीप र ज्ञान प्रदान गर्न यस किसिमको तालिम आयोजना गरिएको कम्पनीका कार्यकारी अधिकृत श्री प्रसिद्ध सिंह सुवालले जानकारी गराउनु भयो ।

डेभ्लपमेन्ट एलायन्स नेपाल प्रा.लि. कृषि विकास बैंकबाट अवकास प्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञ समूहद्धारा प्रवर्द्धित संस्था रहेको र यसले आगामी दिनमा कृषि वित्त क्षेत्रमा सघाउ पुर्याउन विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसंग सहकार्य गरी अगाडि बढ्ने श्री सुवालले बताउनु भयो ।
