ताइवानकी राष्ट्रपति साई इङ – वेन पुन निर्वाचित
Investopaper, पौष २७, २०७६
ताइपेई — ताइवानकी राष्ट्रपति साई इङ–वेन शनिबार दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।
साईको विजयीलाई पश्चिमा सञ्चार माध्यमले ‘ताइवानका जनताले चीनको अधिनायवादको बढ्दो प्रभावलाई ठाडै अस्वीकार गरिदिएका’ बताएका छन् । चुनावी अभियान क्रममा उनले ताइवानलाई चीनबाट बचाउने बताएकी थिइन् ।
राष्ट्रपतीय चुनावमा साइ ताइवानलाइ चीनसंग एकिकरण हुन नदिने नारा बुलन्द गरेकी थिइन । अघिल्लाे कार्यकालमा ताइवानलाई चीनसँग एकीकरण गर्न अस्वीकार गरेपछि ४ वर्षे कार्यकालमा साई र बेइजिङबीचको सम्बन्ध निकै चिसिएको थियो । ताइपेईको विजयी सभामा बोल्दै साईले भनिन्, ‘यो चुनाव निकै महत्त्वपूर्ण छ । जब ताइवानको स्वतन्त्रता र सार्वभौमिकतामाथि चुनौती पैदा हुन्छ, तब हामी हाम्रो दृढताको स्वर बुलन्द पार्छौं ।’
ताइवानको केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) की नेतृ साईले ५७.१ प्रतिशत मत प्राप्त गरेकी हुन् । आयोगका अनुसार उनले ७८ लाख मत प्राप्त गरेकी थिइन ।
साईका निकटतम प्रतिद्वन्द्वी हान कुवो–यूले ३८.६ प्रतिशत मत प्राप्त गरेका थिए भने अर्का प्रतिस्पर्धी जेम्स सोङले भने ४.३ प्रतिशत मात्र मत प्रप्त गरेका थिए । चुनावी परिणामपछि हानले समर्थकसँग भने ‘केही बिग्रेको छैन, हामीले एकत्रित ताइवानको अपेक्षा गरेका छौं र हामी भोलिका दिनमा अवश्य सफल हुनेछौं।’
ताइवानका १ करोड ९० लाख मतदातामध्ये २० देखि २३ वर्ष उमेर समूहका १२ लाखले पहिलोपटक मतदान गरेका हुन् ।
— एजेन्सीकाे सहयाेगमा
