स्वस्थ रहन दिनमा ५,००० भन्दा कम पाइला नै काफी

न्भेष्टाेपेपर ।  भदाै  २२, २०८२

स्वस्थ र तन्दुरूस्त रहन दैनिक १० हजार पाइला हिँड्नु चमत्कार जस्तै हुने लामो समयदेखि भनिँदै आएको छ। तर एउटा नयाँ अध्ययनले दैनिक ५,००० पाइलाभन्दा कमै हिँड्नु पनि पर्याप्त हुने देखाएको छ।

विश्वभरिका २,२६,००० भन्दा बढी मानिसमा गरिएको अध्ययनको विश्लेषणले कुनै पनि कारण उमेर नपुगी हुने मृत्युको खतरा कम गर्न दैनिक ४,००० पाइला नै पर्याप्त हुने देखाएको हो।

मुटु र रक्त धमनीलाई फाइदा पुगोस् भन्नका लागि २,३०० पाइला नै काफी छ। हुन त जति धेरै हिँड्यो त्यति बढी स्वास्थ्यलाई फाइदा हुने अनुसन्धानकर्ताहरू बताउँछन्।

४,००० भन्दा बढी पाइलाहरू हिँडेर २०,००० पाइलासम्म पुर्‍याउँदा थपिएको प्रत्येक एक हजार पाइलाले समय नहुँदै हुने मृत्युको खतरा १५ प्रतिशतसम्मले घटाउने विश्लेषण गरिएको छ।

पोल्यान्डस्थित मेडिकल युनिभर्सिटी अफ लोड्ज र अमेरिकास्थित जोन्स हप्किन्स युनिभर्सिटी स्कूल अफ मेडिसिनको टोलीले हिँड्नुको फाइदा विश्वको जहाँसुकै बस्ने सबै उमेर, समूह र लिङ्गमा लागु हुने जनाएको छ। यद्यपि ६० वर्ष उमेरभन्दा कमका मानिसलाई यसबाट धेरै फाइदा हुन्छ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार शारीरिक अभ्यास पर्याप्त रूपमा नगर्दा त्यसले प्रत्येक वर्ष ३२ लाख मानिसहरूको ज्यान जान्छ – जुन विश्वभरि मृत्यु हुने चौथो कारण हो।

शारीरिक तन्दुरुस्तीसम्बन्धी विश्वव्यापी कम्पनी ब्यारीजकी व्यक्तिगत प्रशिक्षक हनी फाइनले समस्याहरू लामो समय एकै ठाउँमा बसिरहनेमा धेरै भएको बताएकी छन्।

स्वस्थ रहने सामान्य तरिकाहरू

फाइनका अनुसार दैनिक नियमित रूपमा हिँड्ने कुरा अत्यास लाग्दो लाग्न सक्छ तर स्वास्थ्यका लागि त्यो जति राम्रो अरू हुँदैन।

“हिँड्दा त्यसले रक्तचाप कम गराउँछ, हड्डी जोगाउनका लागि मांसपेशीलाई बलियो बनाउँछ, ऊर्जा पनि बढाउँछ र इन्डरफिनहरू पनि बन्छ जसले गर्दा स्वस्थ खानासँगै वजन बढ्न नदिन पनि मद्दत गर्छ,” उनले भनिन्।

अन्य फाइदाहरूमा त्यसले मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ र मोबाइल वा कम्प्युटरमा स्क्रीन हेर्ने समय वा अन्य कुरामा तपाईँलाई बिथोल्दैन।

हिँड्नु “लगभग सबैका लागि” उपयुक्त हुन्छ किनभने र जोर्नी र मांसपेशीका लागि यो सहज हुन्छ, उनले भनिन्।

हिँड्नका लागि उत्तम उपायहरू

  • बस स्टेसनसम्म बस वा कारमा जानुभन्दा हिँडेर जानुपर्छ
  • मेचमा बसेर काम गर्नुहुन्छ भने, प्रत्येक घण्टा उठेर केहीबेर हिँड्नका लागि आफैँलाई सम्झाउनुहोस्
  • यदि गर्भवती हुनुहुन्छ भने हिँड्नु सबैभन्दा राम्रो अभ्यास हो
  • दैनिक पडकास्ट सुन्दै ३० मिनेट हिँड्नुहोस्
  • पार्क वा जङ्गलमा साथीसँग हिँड्नुहोस् वा कुकुर छ भने तिनीहरूलाई लिएर हिँड्नुहोस्
  • थोरैबाट हिँड्न सुरु गर्नुहोस् – बस स्टेसनबाट कार्यालयसम्म जानका लागि १० मिनेट, त्यसपछि पार्कसम्म जाँदा २० मिनेट र वरपर अर्को एकछिन हिँड्दा नै ३० मिनेट हुन्छ

— बीबीसी तथा अन्य एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *