तिजको रौनक : फेरिँदै तिज मनाउने शैली

न्भेष्टाेपेपर ।  भदाै  १०, २०८२

काठमाडौँ ।  ‘पारी पारी आएका ढाका टोपी लाएका, तिनै होलान हाम्रा बाबा लिन आएका’ गायिका लक्ष्मी मल्लको स्वरमा भर्खरै बजारमा आएको यो तिज गीतले नेपाली समाजमा हाम्रा हजुरआमा, आमापुस्ताको तिजलाई झल्काउँछ । त्यो समयमा यातायातको सुविधा थिएन । अहिलेजस्तो सञ्चारको सुविधा थिएन । छोरीलाई विवाह गरेर टाढा–टाढा पठाइएको हुन्थ्यो । तिजको अवसरमा छोरीलाई बुबा वा दाजुभाइ लिन जाने चलन हुन्थ्यो।

हजुरआमा र आमा पुस्तालाई साँच्चै माइती जान, आमाबुबा, दिदीबहिनी र साथीसङ्गी भेट्न पनि निकै कष्ट थियो । विवाह गरेर टाढा–टाढा पठाउने, यातायात तथा सञ्चारको सुविधा नभएकाले सुरक्षा र साहाराका दृष्ट्रिकोणले पनि माइती लिन जानुपर्ने अवस्था थियो । घरबाट पनि हत्तपत्त माइत पठाउने चलन थिएन । माइतबाट बाबु वा दाजुभाइ लिन आएपछि बुहारी माइत पठाउनुपर्ने बाध्यता बन्थ्यो । त्यो समयमा माइतीसँगको मिलनका लागि तिज पर्व निकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व बनेको थियो ।

यस्तै, अनुभव छ नेकपा (एमाले) का सचिव पद्यमा अर्यालको । “हजुरआमा, आमापुस्ताले आफ्ना घरमा परेका पीर व्यथा माइतिमा आएर साथीसङ्गीसँग गीतको माध्यमबाट पोख्ने लहरको रूपमा विकास हुँदै आयो, त्यो बेला अहिलेजस्तो सूचना प्रविधिको समय थिएन” नेतृ अर्यालले भन्नुभयो, “यातायातको व्यवस्था थिएन, तिजमा माइती लिन आउलान् र जाउँला भनेर बस्नुपर्ने अवस्था थियो । तर विस्तारै यो पर्व महिला एकता र सशक्तीकरणको पर्वका रूपमा मनाउने चलन चल्दैगयो । महिला एकताको पर्वजस्तो भइसक्यो ।” 

पुराना पुस्ताले तीजलाई  ‘आफ्नो पीडा पोख्ने अवसर’ का रूपमा लिएका थिए । समाजमा महिलाको अवस्था असमान थियो । विवाहपश्चात् पतिको घरमा गएपछि सासु, ससुरा, नन्द, देवर–भाउजुका व्यवहार, कामको बोझ र सीमित स्वतन्त्रताले महिला पिल्सिएका थिए । तिज आउँदा उनीहरू माइती फर्किन्थे । आफ्ना दिदीबहिनी र साथीसँग दुःख–गुनासा पोख्थे । गीत–सङ्गीतमा समाजको कटाक्ष, पुरुषप्रधान मानसिकतामाथि व्यङ्ग्य र आफ्ना भावनालाई अभिव्यक्त गर्ने मौका पाउँथे । 

गायिका विष्णु माझीको तिज गीतले पनि यस्तै समाजको चित्रण गरेको छ । “म त नराउरी, तिम्रा छोरा राम्रा, आमै मत नराउरी ।” धार्मिक र सांस्कृतिक पर्व तिजमा दर खाने, व्रत बस्ने, नाच्ने गाउने गरिन्छ । आफ्ना पीर व्यथाका गीत मन खोलेर गाउँदा निर्धक्कसँग नाच्दा मनैदेखि खुशी भएर शारीरिक र मानसिक रूपमा महिला स्वस्थ्य पनि हुन्छन् । परापूर्वकालदेखि मनाउँदै  आएको राम्रा संस्कृतिलाई भुल्नु पनि हुँदैन ।

“हजुरआमा पुस्ताले तिज पर्वलाई माइती मिलनका रूपमा हेरे पनि आमापुस्ताले विस्तारै राज्य व्यवस्था परिर्वतन गर्ने अस्त्र बनायो” सचिव अर्यालले थप्नुभयो, “नयाँपुस्ताले आधुनिकताका नाममा मौलिक संस्कृतिलाई बिर्सन हुँदैन, धार्मिक तथा सांस्कृतिक महत्वका गीतमा अस्लिलता प्रस्तुत गर्न हुदैन, संस्कृतिको संरक्षण गर्नुपर्छ ।” विगतको पुस्ताले विभेदको पर्खाल भत्काएको हुनाले अहिलेको पुस्ताले संस्कृतिको संरक्षण गर्दै मस्तले तिज मनाउनुपर्ने उहाँको भनाइ छ ।

पहिलाको तुलनामा समाज बदलिएको छ । सोच बदलिएका छन्, छोरीहरु आत्मनिर्भर हुँदैगएका छन्, सञ्चारको समय छ र एकैछिनमा विश्वभरि जहाँ भए पनि सम्पर्क गर्न सकिन्छ । समाजमा छोराछोरीलाई दुवै बराबर  ‘सन्तान’ को रूपमा हेरिन थालेको छ । 

अहिलेका पुस्ताले हजुरआमा र आमापुस्ताका दुःख केवल एकादेशको कथाजस्तो मात्र छ । अहिले तिजमा पुरुष पनि गीत गाउन थालेका छन् । अहिलेको पुस्ताको तिज गीत नै फरक छ । समीक्षा अधिकारीको र खेम सेन्च्युरीले संयुक्तरूपमा गाएको गीतमा भनिएको छ, “माया छ र पो मायालुको अर्थ छ, नत्र भने जिन्दगी व्यर्थ छ ओइ पुतली ।”

तिज पर्व नेपाली समाजमा महिलाको जीवन, संस्कृति र सामाजिक परिवर्तनसँग गासिएको गहिरो अध्याय हो । यो पर्वको ऐतिहासिक, पौराणिक र सांस्कृतिक महत्वलाई हेर्ने हो भने यसले केवल धार्मिक आस्था मात्र बोकेको छैन, समाजको रूपान्तरण, महिलाको अधिकार, शिक्षा र आत्मनिर्भरतालाई पनि प्रतिविम्बित गरेको छ ।

परम्परागत तिजमा दर खाने प्रथा घर–घरमा सीमित हुन्थ्यो । दिदी–बहिनी, छोरीलाई माइतीले बोलाएर दर खुवाउने गर्थे । आज यो संस्कार नयाँ रूपमा विस्तार भएको छ । महिलाहरू साथीभाइ भेला भएर होटल र रेष्टुरेन्टमा दर खान जान्छन् । फरक–फरक पेशामा संलग्न महिलाहरू व्यावसायिक पोशाकमै भेटिन्छन् । दर खान्छन् र रमाइलो गर्छन् । यसरी तिज अब घरको चारदिवारभित्र मात्र नभई सामाजिक जमघट र सहकार्यको पर्व बनेको छ । यसले समाजमा महिलाको आत्मविश्वास र सामाजिक उपस्थितिलाई झनै प्रकट गराएको छ ।

अहिले तिज मनाउने तरिका पनि आ–आफ्नै छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले तिज पर्वलाई भेटघाटको राम्रो अवसरका रूपमा लिनुहुन्छ । “परापूर्वकालदेखि चल्दैआएको परिवारमा धेरै समय भेटघाट, गाउने, नाच्ने गर्दा पनि मन आनन्दित हुन्छ”, उहाँले भन्नुभयो, “महिलालाई अहिले पनि हत्तपत्त फुर्सद हुँदैन, पर्वको बहानामा पनि महिला खुशी हुन पाउनु राम्रो चलन हो, मैले राम्रो रूपमा लिन्छु ।” 

समयसँगै समाज अघि बढ्दै गयो । शिक्षा र चेतनाको विस्तारसँगै महिलाको स्थिति पनि क्रमशः परिवर्तन भयो । विद्यालय, विश्वविद्यालय र रोजगारीमा महिलाको सहभागिता बढ्दै गयो । महिलाले आत्मनिर्भर बन्ने अवसर पाए । अहिले महिलालाई तिज पर्वमा माइती घरमा  गएर मात्र दर खानुपर्छ भन्ने छैन । साथीसङ्गी, विभिन्न सङ्घ संस्थाभित्र पनि आ–आफ्नौ मनका कुराहरु आदान प्रदान गर्ने गर्दछ । नाच्ने, गाउने र रमाइलो गर्ने गर्छन् । यस परिवर्तनले तिज मनाउने शैलीमा फरकपन आएको छ ।  

अघिल्लो पुस्तामा जहाँ तिज  ‘दुःख पोख्ने माध्यम’ थियो, अहिले त्यो  ‘खुशी मनाउने पर्व’ मा बदलिएको छ । महिलाले अब तिज गीतमा शिक्षा, समानता, आत्मनिर्भरता र अधिकारका कुरा गाउन थालेका छन् । तर केही भड्किला गीत पनि छन् । जुन समाज अनुकूल छैन । यस्ता गीतलाई परिर्वतन गर्न जरुरी रहेको महिला अगुवाहरुको सुझाव छ ।

धर्म तथा संस्कृतिविद् डा. शोभा ढुङ्गानालाई पर्व मनाउँदा समाजले केही राम्रो कुरा अनुसरण गर्न सकोस् भन्ने लाग्छ । “तिज पर्व मनाउने तरिका र शैली हिजो र आज पूरै परिर्वतन भएको छ, गीत सङ्गीत पनि समयसँगै फेरिएका छन्” उहाँले भन्नुभयो  “गीत प्रगतिशील, महिला सशक्तीकरण उपदेशमूलक हुनुपर्छ, गीत सुन्दै अप्ठयारो हुनु भएन, लेख्ने र गाउनेको पनि आफ्नो र समाजको मर्यादा हेर्नुपर्छ ।”

आजभोलि मन्दिरमा गएर उछृङलता प्रदर्शन गर्नेजस्ता दृश्यहरु देखिने गरेको हुँदा त्यसलाई पनि रोक्नुपर्ने उहाँको भनाइ छ । “पर्वले समाज निर्माण गर्नुपर्छ, सकारात्मकता विकास गर्नुपर्छ” धर्म तथा संस्कृतिविद् डा ढुङ्गानाले थप्नुभयो, “सहकारीबाट पैसा लिएर तिज मनाएको पनि देखें मैले, त्यो गर्नु हुँदैन, भगवानलाई धनले होइन, प्रेमले पूजा गरे हुन्छ ।” 

ऐतिहासिक र पौराणिक दृष्टिमा तिज पर्वको सुरवात पौराणिक कथासँग जोडिएको छ । हिन्दू शास्त्रअनुसार हिमालयकी छोरी पार्वतीले महादेवलाई पति पाउने महान इच्छासहित कठोर व्रत गरेकी थिइन् । धेरै वर्षको कठिन साधना, उपवास र ध्यानपछि अन्ततः महादेवले पार्वतीको अटल भक्ति र निष्ठाबाट प्रभावित भई उनलाई जीवनसाथीको रूपमा स्वीकार गरे । यही कथनले तिज पर्वलाई महिलाको श्रद्धा, समर्पण र आस्थाको प्रतीक बनाइएको छ । अहिले पनि धेरैजसो महिलाले तिजको दिन व्रत बस्छन् । धार्मिक विधि–पूजा गर्छन् । पार्वती–महादेवको आशिर्वाद प्राप्त गर्ने उद्देश्य राख्छन् ।

आधुनिक समाजमा तिजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा मानिन्छ । हरित र आलिका मिलेर हरितालिका बनेको हो । यसमा हरिता भनेको हरण गरेर र आलिका भनेको सखीहरू भन्ने हुन्छ । अर्थात् सखीहरूबाट हरेर महादेवलाई पाउनका लागि पार्वतीले तपस्या गर्दा सफल भएकाले तिज पर्वलाई हरितालिका तिज भनिन्छ ।

तिज पर्वलाई परापूर्वकालमा माइती मिलनका रूपमा लिइने भए पनि अहिले तिज मनाउने शैली मनाउने फेरिएको छ । आसपी भेटघाट खुशी हुने रमाउने गरिन्छ । तिज पर्वको संस्कृतिलाई बचाई राख्न यसका राम्रा पक्षलाई अगाल्दै विकृतिलाई हटाउँदै मनाउन जरुरी छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *