नेपाल सामु अर्को चुनौतीः भारतबाट सलह नेपाल छिर्दै

इन्भेष्टोपेपर ।  जेष्ठ १५, २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्‍याउन सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन् ।

सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो। यसको एक बथान ९झुन्ड० अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको छ। भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल हो।

नेपालमा पश्चिमी दिशाबाट यो फट्यांग्रा भित्रिन लागेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यसले बढी सुदूरपश्चिमका जिल्लासँगै कर्णाली, प्रदेश ५ र पूर्वी जिल्लालाई प्रभाव पार्न सक्ने बताइएको छ।

भारतीय सीमासँग तराईका जिल्ला सबैभन्दा नजिक भएकाले असारदेखि लगाइने धानबालीलाई यसले ठूलो नोक्सानी पार्न सक्ने विज्ञहरूको भनाइ छ। यो फट्यांग्राले मुख्य गरी खाद्यान्न बालीलाई नराम्रो तवरबाट नष्ट गर्ने संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन९एफएओ० ले चेतावनी दिएको छ।

एफएओका अनुसार एक वर्गकिमिमा फैलिएर बस्ने एउटा बथानमा चारदेखि आठ करोड फट्यांग्रा हुन्छन्। एक दिनमा फट्यांग्रा १ सय ३० किमिसम्म बथान बनाएर हिँड्न सक्छन्। फट्यांग्राको एउटा बथानले एक दिनमा ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञले बताएका छन्। यो एक दिनमा ५ सय किमिसम्म बथानमै उडान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा ओर्लिन्छ। दक्षिण एसियामा यो फट्यांग्राका लागि यतिबेला अनुकूल मौसम भएको विज्ञहरू बताउँछन्।

नेपालमा पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सम्भावित खतरालाई ध्यानमा राख्दै पूर्व तयारीमा जुटिसकेको छ। मन्त्रालयले यसको रोकथाम र समस्या समाधानका लागि प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।

सरकारले नेपाली प्राविधिक टोलीलाई अमेरिका र अप्रिकाका विज्ञहरूबाट आवश्यक तालिम उपलब्ध गराउन पनि तयारी गरेको छ। तालिमप्राप्त प्राविधिक टोलीको सहयोगमा नेपालका किसानलाई यो फट्यांग्राको प्रकोप रोकथामका लागि आवश्यक जानकारी उपलब्ध गराउने तयारी भइरहेको हुमागाईंले बताए।

यो फट्यांग्रालाई मालाथिन, फेनिट्रोथियनसहित अग्रनोफस्फेट समूहका साथै नेपालमा दर्ता भएको केही विशिष्ट प्रकारको विषादीबाट नियन्त्रण गर्न सकिने उनले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा राजेश बर्माले लेखेका छन् ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *