पाँच वर्षअघि उपभोग मिति समाप्त भएकाे रहरकाे दाल बिक्री

इन्भेष्टाेपेपर । फागुन १३, २०७७

मोरङ — उपभोग्य मिति पाँच वर्ष अगाडि समाप्त भएको खाद्य सामग्री रहरको दाल बिक्री गरेको आरोपमा विराटनगरका एक व्यापारीलाई बुधबार रु तीन लाख जरिवाना गरिएको छ । उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा निखिल जैसानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सर्न विराटनगर–७ को गोदामबाट उपभोग्य समय समाप्त भएको रहरको दाल १५ केजी तौल भएको दुई हजार ७००  बोरा बरामद भएको छ । 

व्यापारी बोहोराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै सन् २०१३ मा उत्पादन भएको उक्त रहरको दालको म्याद सकिने समय सन् २०१५ रहेकोमा बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति सन् २०२२ राखेर बजारमा बिक्री वितरण गर्ने गरेको  अनुगमनका क्रममा फेला पारेको कार्यालयका  निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । भारतबाट आयात गरिएको उक्त दाल कन्सर्नको गोदाममा ४० टन बरामद गरिएको छ । 

उपभोग्य म्याद सकिएको खाद्यवस्तुमा नयाँ लेबल लगाएर पुनः बिक्री वितरण गरेको भेटिएपछि कार्यालयले जरिवाना गरेको हो । बोहोराले उक्त दाल विराटनगरसहित मुलुकभरि थोकमा बिक्री वितरण गर्दै आएका छन् । बजारमा समेत म्याद सकिएको ठूलो परिमाणमा दाल पठाएको हुनसक्ने आशङ्कामा अनुगमनलाई तीव्रता दिने कार्यालयले जनाएको छ । व्यापारी बोहोराले म्याद सकिएको मितिलाई मेटाएर सोही स्थानमा नयाँ लेबल स्टिकर राखेर दाल बजार पठाउने कार्य गर्दै आएका थिए । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *