प्रहरीले बरामद गर्यो १० लाख मास्कः साझा औषधि पसलबाट बेच्ने तयारी
इन्भेष्टोपेपर। चैत्र ३, २०७६
काठमाडौं । कोरोना भाइरसको जोखिम बढेसँगै मास्कको माग बढ्दो छ र कालोबजारीले अभावको सृजना भएको छ। चीनबाट आपूर्ति रोकिए संगै भएका मास्कमा पनी कालोबजारी हुनथाले पछि सरकारले यसमा कडाइ गर्न थालेको छ। ४/५ रुपैयाँमा पाइने मास्कलाई ५० रुपैयाँसम्म लिन थालेपछि प्रहरीले सर्च अपरेसन चलाएर बरामद गर्न थालेको छ ।
सरकारले विश्वव्यापी महामारी भएको अवस्थामा पनि कालोबजारी हुन थालेपछि कडाइका साथ सर्च अपरेसनको साथै अभियोगमा बरामद भएका मास्कहरु सरकारले साझा औषधि पसलबाट बेच्ने तयारी गरेको छ । तर बरामद भएका मास्क समयमा व्यवस्थापन गर्न नसक्दा गोदाममा थन्किएका छन् । किनकी यसमा पक्राउ परेकाहरुलाई कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अनुसार मुद्दा चलाइनछ र मुद्दाको टुंगो लागी सकेपछि जफत गरिएका वस्तु सरकारबाट बिक्री गर्न सकिने ऐनमा उल्लेख छ ।

स्रोतकाअनुसार कालोबजारी गरेकालाई अभियोगमा अहिलेकै प्रक्रिया अनुसार मुद्दा चलाउने तर बरामद भएको वस्तु तत्काल बजारमा पठाउन लिखित निर्देशन नै दिने तयारी गरेका छन् । बरामद भएका मास्कहरु साझा औषधि पसलबाट बिक्री गर्ने तयारी छ ।
प्रहरीले चैत २ गते कपनको मिलन चोकबाट ५ जनालाई पक्राउ गरेको थियो र उनीहरुबाट १ लाख ६८ हजार थान मास्कसहित पक्राउ गरेको थियो। प्रहरीले सोधपुछको क्रममा उनिहरुसंग काठमाडौं महानगरपालिका १० विष्णुमति पुलस्थित रोहित श्रेष्ठको घरभाडामा लिई राखेको (आरडीजी सप्लायर्स कम्पनीको गौदामबाट) ८ लाख ४० हजार थान मास्क बरामद गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।
यो समूहबाट अहिलेसम्म १० लाख ८ हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ। यो सर्च अभियान कालोबजारी समाप्त नभएसम्म चलिरहने महानगरीय प्रहरी परिसर प्रमुखले बताउनु भयो।
