प्रेरणादायक व्यक्ति जाे मौरीपालन गरेर कमाउँछन् वार्षिक १२ लाख

इन्भेष्टोपेपर ।  श्रायण २०, २०७७

काठमाडौं । माहुरीको गुलियो मह र त्यही महजस्तै मिठो नाम डिलबहादुर । नाममात्रै होइन, काम पनि उस्तै प्रेरणादायक । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरका डिलबहादुर खत्री र मौरी एकअर्काका पर्यायवाची हुन् ।

जिल्लामै सफल मौरीपालक कृषकका रूपमा स्थापित भएका डिलबहादुरको दुःख र सङ्र्घष भने सामान्य छैन । अझै आफ्नो धरातल बिर्सनुहुन्न र भन्छन्, “अहिले सङ्घर्षरत छु, साँच्चिकै सफलता प्राप्त गर्न त अझै बाँकी छ ।”

कुनै समय कृषि पेशा तरकारी र कुखुरापालन गर्दा विफल भएर निराश नभएको पनि होइन तर त्यसबाट गम्भीर पाठ सिकेका डिलबहादुर अहिले मौरीपालनबाट उत्साहित छन् ।

उमेरले ५७ वर्षका डिलबहादुरले विसं २०४५ मा रुखमा रहेका मौरी लिएर परम्परागत घारमा मौरीपालनको शुरुआत गरेका थिए । एक घारबाट मौरीपालन गर्न शुरु गर्नुभएका खत्रीले अहिले मौरीपालन व्यवसायबाट वार्षिक रु १२ लाख बढी आम्दानी गर्दै आएको बताउँछन् ।

“कृषिमा धेरै दुःख गरियो, भैँसी पालेँ, खेतीपाती गरेँ, कुखुरा फार्म खोलेँ”, क्षत्रीले भने, “सबैबाट असफलता मात्रै हात लाग्यो, कुखुरा फार्म डुब्यो, मौरीले मात्रै मलाई चिनेजस्तो छ, यसबाट सफलता मिल्यो, सन्तुष्टि मिल्यो ।” मौरीपालन गर्नुअघि पाँच वर्ष कुखुरा फार्म खोलेर कुखुरापालन गर्दै आएका खत्रीले पाँच वर्षमा आम्दानीभन्दा बढी ऋणको भार बेहोर्नुप¥यो ।

मौरीपालनलाई व्यावसायिक बनाउँदै लैजाने सोचका कारण विसं २०६५ मा बलेवा मौरीपालन उद्योग दर्ता गरी मौरीपालन व्यवसाय अगाडि बढाए । उनको उद्योगमा मह मात्रै होइन, मह उत्पादनका लागि आवश्यक आधुनिक घार र मौरीसहितको घार उत्पादन तथा बिक्री हुँदै आइरहेको छ । हालसम्म मौरीपालनमा रु ८० लाख लगानी गर्दै आएका खत्रीसहित दुई छोरा र छ कामदार खटाएर दैनिक मौरीको घारसमेत निर्माण गर्दै आएको बताए ।

“दुई छोरा जीवन र जनकले फार्ममा घार उत्पादनमा सघाउँदै आएका छन् । जेठो विदेश र कान्छो छोरा अध्ययनमै छ”, उनले भने, “कृषि कर्ममा भएको असफलताबाट हिम्मत हारिन, अहिले मौरीपालनबाट सफलता मिलेको छ ।”

वर्षमा पाँच हजार केजी मह उत्पादन गर्दै आएको फार्मबाट वार्षिक ८०० मौरीका घारसमेत बिक्री हुँदै आएको छ । खत्रीका अनुसार गत वर्ष मात्रै ७०० मौरीका घार थोकमा रु दुई हजार ८०० र खुद्रा रु तीन हजार ५०० सम्ममा बिक्री गरेको उहाँको भनाइ छ ।

मौरीपालन उद्योगमा उत्पादन गरेको प्राङ्गारिक मह प्रतिकेजी रु एक हजारमा बिक्री गर्दै आएका खत्रीको उद्योगमा ३०० मौरीका घार बिक्रीका लागि तयारी अवस्थामा छन् । स्थानीय काठको प्रयोग गर्दै बनाइएको मौरीको घर पाँचदेखि १० वर्ष टिकाउ हुने खत्रीको दाबी छ । उनले मौरीसहितको घारलाई भने रु नौ हजारमा बिक्री गर्दै आएका छन् ।

उत्पादन भएको मह बिक्रीका लागि बजार जानुपर्ने अवस्था नरहेकाले उपभोक्ता घरमै मह खरिद गर्न पुग्ने गरेका छन् । मौरीको घार पहिले जिल्ला कृषि विकास कार्यालयले खरिद गरेर कृषकलाई अनुदानमा वितरण गर्दै आएकामा अहिले स्थानीय तहले खरिद गर्दै आएको उनको भनाइ छ ।

बलेवा क्षेत्रमा उपयुक्त चरन क्षेत्र भएका कारण एकै घारबाट वर्षमा चारपटक मह निकाल्न सकिने उनको अनुभव छ । “चरन क्षेत्र उपयुक्त भएको स्थानमा असोज, कात्तिक, फागुन र जेठमा मह निकाल्न सकिन्छ” खत्रीले भने “गाउँको हावापानीमा हुर्केका मौरीबाट प्राङ्गारिक मह उत्पादन हुन्छ, यसलाई आयुर्वेदिक औषधिको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।” रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *