फेसबुकलाई टुक्र्याउने माग राख्दै अमेरिकामा मुद्दा दायर
इन्भेष्टाेपेपर । मङ्सिर २६, २०७७
सन फ्रान्सिस्को । अमेरिकामा घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी फेसबूकलाई टुक्र्याउने माग राख्दै मुद्दा दर्ता भएको छ ।
अमेरिकी संघीय नियामकहरू र ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले बुधवार संघीय जिल्ला अदालतमा कम्पनीविरुद्ध दुईओटा मुद्दा दायर गरेका हुन् । कम्पनीले गैरकानूनी, प्रतिस्पर्धा विरोधी गतिविधिमा संलग्न हुँदै आफ्नो प्रतिस्पर्धीहरूलाई किन्ने, होच्याउने र मार्ने गरेको भन्दै अभियोजनकर्ताहरूले फेसबूकलाई टुक्र्याउन खोजेका छन् ।
प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको नेतृत्वमा फेसबुकले वर्षौंदेखि गैरकानूनी एकाधिकार देखाएको मुद्दामा आरोप लगाइएको छ । मुद्दामा फेसबूकको फोटो शेयरिङ टूल इन्ष्टाग्राम र म्यासेजिङ सर्भिस ह्वाट्स एप खरीदलाई चुनौती दिइएको छ । यी दुई सम्झौताले फेसबूकलाई डिजिटल बजारमा शक्तिशाली प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउन मद्दत गरेको अनुसन्धाताहरूले बताएका छन् ।
यो मुद्दा फेसबूकको १६ वर्षे इतिहासमा सर्वाधिक ठूलो राजनीतिक र कानूनी चुनौती बनेर उभिएको छ । यसले अमेरिकी नियामक र सिलिकन भ्यालीका सबैभन्दा धेरै मुनाफामूलक कम्पनीहरूबीच सुल्झिन वर्षौं लाग्ने कलह शुरू गरेको छ । इन्ष्टाग्राम र ह्वाट्स एप बेच्न फेसबूकलाई बाध्य बनाउन प्रतिस्पर्धा विरोधी गतिविधि हेर्ने नियामकहरूले अदालतलाई आग्रह गरेका छन् । एजेन्सी
