फ्रान्समा फेला पर्‍यो भीमकाय डाइनोसरको तिघ्राको हड्डी

Investopaper, श्रावण १३, २०७६ 

वैज्ञानिकहरूले दक्षिण-पश्चिमी फ्रान्सस्थित एउटा उत्खनन क्षेत्रमा भीमकाय डाइनोसरको तिघ्राको हड्डी फेला पारेका छन्।

तिघ्राको दुई मिटर लामो हड्डी औँजेक क्षेत्रमा फेला पारिएको र त्यो सोरापाड डाइनोसरको भएको ठानिएको छ। लामो घाँटी र पुच्छर भएको ती भीमकाय डाइनोसरले बोटविरुवा खाने गर्थे।

जुरासिक युगको अन्त्यतिर एकदमै पाइने सोरापाड डाइनोसर पृथ्वीमा हालसम्म पाइएका ठूलामध्येका स्थलचर थिए। फेला पारिएको हड्डीको संरक्षित अवस्था हेरेर आफूहरू आश्चर्यचकित भएको जीवाश्मबारेका जानकार वैज्ञानिकहरूले बताएका छन्।

न्याश्नल हिस्ट्री म्युजियम अफ प्यारिसका रोनान एलेनले लो प्यारिजियन पत्रिकासँग भने, “हामी मांसपेशी, स्नायु र दाग देख्न सक्छौँ।” “यति ठूलो अंश आँफैमा टुक्रिने सम्भावना धेरै हुने भएकाले यत्रो टुक्रा प्राप्त हुनु दुर्लभ कुरा हो।”

ती डानोसरकति तौलका थिए?

एलेनले समाचार संस्था एएफपीलाई बताए अनुसार सोरापाड डाइनोसरहरू १४ करोड वर्ष पहिला अस्तित्वमा थिए र तिनीहरू ४० देखि ५० टनसम्मको तौलका थिए।

अर्को एउटा फ्रान्सेली पत्रिका अनुसार सन् २०१० मा एउटा सोरापाड डाइनोसरको तिघ्राको हड्डी फेला पारिएको थियो जसको लम्बाइ २ मिटर र तौल ५०० किलोग्राम थियो। यसै हप्ता फेला पारिएको पछिल्लो हड्डी बाहिर निकाल्न पूरै एक हप्ता लाग्न सक्ने र त्यसका लागि क्रेन चाहिने बताइएको छ।

कोन्याक नगर नजिकै पर्ने शाराँट क्षेत्रस्थित अङ्गुर बगानहरूमुनिको जमिन उत्खनन कार्यमा करिब ७० जना वैज्ञानिकले यो ग्रीष्मकालमा काम गरिरहेका छन्। सन् २०१० यता सो क्षेत्रबाट साढे सात हजारभन्दा बढी जीवाशेष फेला पारिसकिएको छ।

यसअघि दलदल रहेको उक्त क्षेत्र उत्खनन कार्यका लागि फ्रान्सका निकै महत्त्वपूर्णमध्येको एउटा स्थान साबित भएको छ। यसअघि स्टेगासोरस डाइनोसरका हड्डी तथा अस्ट्रिच डाइनोसरको एउटा सिङ्ग फेला पारिएको थियो।

  • विविसी बाट
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *