बहुुुुपयोगी ज्वानोको झोल, जसलाई ‘सुत्केरी सुप’ पनि भनिन्छ
इन्भेष्टोपेपर । चैत्र १२, २०७६
भान्सामा प्रयोग हुने मसलामध्ये ज्वानो प्रमुख मानिन्छ । ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ । यसलाई औषधिका रूपमा समेत प्रयोग गर्न सकिन्छ ।
प्राय : सुत्केरी महिलालाई ज्वानोकाे झाेल खुवाउने गरिन्छ, जसलाइ ‘सुत्केरी सुप’ समेत भन्ने गरिन्छ । सुत्केरी अवस्थाका महिलालाई ज्वानो खुवाउँदा प्रशस्त मात्रामा दूध आउने र हर्मोन सन्तुलन गर्छ । मौसमी रोगमा ज्वानो खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ ।
ज्वानाेकाे झाेल खानाले हुने फाइदाहरूः
चिसो मौसममा ज्वानो खाँदा रुघाखोकी लाग्दैन । चिसोमा घाँटी दुख्ने, कफ जम्ने, रुघा लाग्नेजस्ता समस्या भएमा ज्वानो निकै लाभदायी हुन्छ । ज्वानोलाई विभिन्न तरिकाले खान सकिन्छ । यसलाई झोल बनाएर र दाल, तरकारी वा साग झान्नमा पनि प्रयोग गर्न सकिन्छ ।
ज्वानोलाई मह अथवा कागतीको रसमा मिसाएर खान सकिन्छ । ज्वानो, मह र भेनेगरलाई मिसाएर लगातार १०-१५ दिनसम्म खाँदा मिर्गौलाको पत्थरी ठीक हुने । यसलाई भुटेर मनतातो पानीसँग खाँदा ग्यास्ट्रिक कम हुन्छ । ज्वानोले श्वासप्रश्वासमा आउने समस्यालाई समेत कम गर्छ । बिहान वाकवाक लागेमा ज्वानोलाई चपाएर खाँदा आराम हुन्छ ।
नियमित ज्वानो खाँदा श्वास गन्हाउने समस्याबाट बच्न सकिन्छ । ग्यास्ट्रिकका लागि यो निकै लाभदायी हुन्छ । यसले पाचन प्रक्रियालाई बलियो बनाउँछ । ज्वानो पाइल्स रोगीका लागि पनि निकै प्रभावकारी मानिन्छ । यसले शरीरमा प्रवेश गर्ने हानिकारक ब्याक्टेरियालाई पनि रोक्ने काम गर्छ ।
ज्वानाेकाे झाेल (सुप) तयार गर्ने विधिः
आवश्यक सामग्री : ज्वानो – ठूलो २ चम्चा , अदुवा – एक ठूलो टुक्रा , ल्वाङ – पाँचवटा , सुकमेल – पाँचवटा , आवश्य कता अनुसार – नुन र बेसार , आवश्यकता अनुसार पानी । अब सबैभन्दा पहिले ज्वानोलाई तावामा हल्का भुट्ने । भुटेको ज्वानोलाई मसिनो गरी पिस्ने । अदुवा, ल्वाङ, सुकमेल र दुई चार दाना मरिच पिसेर पेस्ट बनाउने ।
यसपछि आफूलाई चाहिने जति एउटा भाँडोमा पानी उमाल्ने । अब उम्लेको पानीमा पिसेको ज्वानोको धूलो र अदुवा ल्वाङ र मरिचको पेस्ट राख्ने । उम्लिँदै गरेको ज्वानो पानीमा स्वादअनुसार नुन र बेसार राख्ने । करिब पाँच मिनेट जति उमाल्ने । यसरी तयार भएको ज्वानोको झोल साँझ बिहान खाँदा राम्रो हुन्छ ।
