बालगोपाल मन्दिर भाइटीकामा खुल्ने

इन्भेष्टाेपेपर । कार्तिक २८, २०७७

काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपाल मन्दिर यसपटकको भाइटीकामा खुल्ने भएको छ । दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ । २०७२ को भूकम्पले मन्दिरमा क्षति पुर्‍याएपछि बालगोपालको मूर्तिलाई छाउनीस्थित संग्रहालयमा राखिएको थियो । भाइटीकाको दिन भने रानीपोखरीको बाहिरै राखेर पूजा गरिँदै आएको थियो ।

मन्दिर खोल्ने विषयमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यसँग छलफल गरिररहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर यही महिना रानीपोखरी निर्माण सम्पन्न गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन साताअघि उद्घाटन गरेकी थिइन् । भण्डारीले बालगोपाल मन्दिरको पनि प्राणप्रतिष्ठा पूजा गरेयता मन्दिर बन्द छ ।

प्रताप मल्लकै पालाको ग्रन्थकुट शैलीमा बनेको मन्दिरमा बालगोपाल, शिवलिंग र हरिशंकरी गरी तीन मूर्ति छन् । भाइटीकाको दिन पूजा गरिने बालगोपालको मूर्तिलाई बालगोपालेश्वर भनेर भ्रम फैलाएको भन्दै संस्कृतिविद्ले आपत्ति जनाउँदै आएका छन् । संस्कृतिविद् काशीनाथ तमोटका अनुसार पोखरीको महत्त्व अभिवृद्धि गर्न बीचमा मन्दिर बनाइएको हो ।

रानीपोखरी पुनर्निर्माणका क्रममा अध्ययन गरेर सुझाव दिन गठित विज्ञ समितिका सदस्यसमेत रहेका तमोटका अनुसार बीचको मन्दिर बालगोपालेश्वर नामले प्रसिद्ध भए पनि यसो भन्नु गलत हो । ‘बालगोपालेश्वर भनेर चर्चा गरिएको मूर्ति बालगोपालको हो,’ तमोटले भने, ‘गोपाल भनेको कृष्ण हो । कृष्ण सानो भएकाले बालगोपाल भनियो । यहाँ सानो मूर्ति छ गोपालको ।’ बालगोपालको छेउमा शिवलिंग छ । ‘शिवलिंगको छेउमा भएकाले बालगोपालेश्वर भन्न थालिएछ,’ तमोटले भने, ‘लिंग भनेको शिव हो । भन्दाभन्दै मन्दिरलाई नै गोपालेश्वर भन्न थालियो । यसको वास्तविकता खोजी गरिएन ।’

हरिशंकरी भनेको लक्ष्मी र पार्वती जोडिएको मूर्ति हो । तमोटका अनुसार विष्णु र शिव जोडिएर हरिशंकर बनाइएका मूर्ति धेरै छन् तर हरिशंकरी मूर्ति पाटनको टुसाहिटी, हनुमानढोकाको सुन्दरी चोक र रानीपोखरीमा मात्र छन् । ‘प्रताप मल्लले प्रतिस्थापन गरेको मूर्तिचाहिँ हरिशंकरी हो । हरिशंकरी अनौठो मूर्ति हो । यस्तो मूर्ति अन्यत्र देशमा छैनन् । धेरैलाई यसबारे थाहा छैन । यसको प्रचार पनि भएको छैन ।’ आजको कान्तिपुर दैनिकबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *