दशैँतिहारमा मुगुको राराताल घुम्नेको लर्को

इन्भेष्टाेपेपर । कार्तिक २८, २०७७

सिञ्जा — कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो ।

दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक १५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिनुभयो । “विगतमा सुनसान रहेको रारामा अहिले घुम्न आउनेको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउन हुन थालेका छन् ।”

निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिकमा रारामा झण्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । प्राय आन्तरिक पर्यटक मोटरसाइकल, जीप र हवाईमार्गबाट रारा आउने गरेको निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिनुभयो । रारामा घुम्न आउने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् । रारा घुम्नलाई चैत, वैशाख, जेठ, भदौै, असोज र कात्तिक महिना उपयुक्त भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको मुगु झ्यारिका रमेश रावतले बताउनुभयो ।

“प्राय पर्यटक हिउँद र वर्षा सकिएपछि रारा घुम्न आउने गरेका छन्”, उहाँले भन्नुभयो, “त्योबाहेक अरू समयमा निकै कम मात्र पर्यटक आउने गरेका छन् ।” बिदामा रारामा जानेको सङ्ख्या बढेपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको सिञ्जा गोठिज्युलाका होटेल व्यवसायी भक्तबहादुर बुढाले बताउनुभयो । “रारा घुम्न आउने पर्यटकका कारण कर्णाली राजमार्गका होटेल तथा अन्य व्यवसायमा चहलपहलको बढेको छ”, उहाँले भन्नुभयो, “विगतभन्दा यो वर्ष दशैँतिहार बिदामा रारा आउनेको सङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ ।”(रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *