महाँकालचौर, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा आजबाट मेलम्चीको पानी

इन्भेष्टोपेपर । चैत्र १५, २०७७

काठमाडौँ — काठमाडौँ उपत्काका विभिन्न स्थानमा आजबाट मेलम्चीको पानी आउने भएको छ । उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ ।

पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । उहाँका अनुसार खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेका छन् । अहिले कतिपय सञ्चारमाध्यमले एकैपटक सबैतिर र ठूलो परिमाणमा पानी आउने भने पनि त्यो सत्य नभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पहिलो चरणमा केही स्थानमा मात्रै र थोरै पानी आउनेछ, विस्तारै क्षेत्र र परिमाण दुवैलाई बढाउँदै लगिनेछ ।” पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिको चरणमा महाराजगञ्ज र पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ । अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ । अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोडसम्म पानी आउनेछ ।

अर्काे प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उहाँले बताउनुभयो । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ । उहाँले भन्नुभयो, “त्यसका लागि अझै केही हप्ता लाग्न सक्छ ।” आजबाट तोकिएका चार पोखरीमा पानी भर्ने भनिए पनि बीचमा पाइपमा समस्या आएमा नपठाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताउनुभयो । परीक्षण ठीक भएको पाइएमा मात्रै नियमितरूपमा पानी पोखरी हुँदै घरघरका धारासम्म पुग्नेछ ।

कुन स्थानमा पानी जाने कता नजाने र कुन–कुन समयमा पानी आउने भनी सम्बन्धित शाखाले आ–आफ्नो फेसबुक पेजमा राखिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ग्राहकले आ–आफ्नो शाखामा सम्पर्क गरेर पनि बुभ्mन सक्नुहुन्छ ।” मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । लिमिटेडले पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले त्यसको समेत तयारी गरेको छ । समस्या आउनासाथ सो स्थलमा पुग्नका लागि तयारी अवस्थामा एउटा समूह राखिएको शाक्यले जानकारी दिनुभयो ।

कुनै पनि ठाउँमा चुहावट हुँदा तत्काल मर्मतका लागि निर्माण व्यवसायी र आवश्यक सामग्री तयारी गरिएको छ । उहाँले भन्नुभयो, “हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।” मेलम्ची खानेपानी आयोजनाले गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणले दुर्ई वर्षयता गति लिएको थियो ।

विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो । पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *