राजस्व छली गर्नेहरू फेरि सक्रिय हुन थाले

इन्भेष्टोपेपर ।  असाैज ०६, २०७७

काठमाडौं । लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका अपनाएर करिब ३६ करोड ८८ लाख ९७ हजार रुपैयाँ राजस्व छली गरेका छन् । त्यसरी राजस्व छली भएको पाइएपछि राजस्व अनुसन्धान विभागले विभिन्न कम्पनी तथा फर्मविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले निषेधाज्ञा खुलेपछि सोमबार एकै दिन राजस्व छलीमा संलग्न विभिन्न कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा दायर गरेको हो । विभागले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिने जनाएको छ ।

विभागले चितवनको सन्तोषी निर्माण सेवा, लतितपुर महानगरपालिका–१३ स्थित स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्स, बिग प्लान सप्लायर्स, बिग प्लान ब्याग उद्योग भक्तपुर, एनपी ट्रेड एन्ड सप्लायर्स र सम्मानित ट्रेड कन्सर्नविरुद्ध सो परिमाणको राजस्व छलीको मुद्दा दायर गरेको हो ।

विभागका अनुसार सन्तोषी निर्माण सेवाका सञ्चालकसहित ३ जनाबाट कुल ६ करोड २२ लाख ७४ हजार २८८ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

सन्तोषी निर्माण सेवाले वस्तु तथा सेवा नै खरिद नगरी झुटा र नक्कली भ्याटबिल बिक्री गरेको पाइएको छ । यसैगरी, स्काइ लाइन ट्रेडर्स एन्ड सप्लायर्सका सञ्चालक वीरेन्द्रकुमार चौधरी, यति इन्टरनेसनलका सञ्चालक उषाकुमारी चौधरी र रिवाज इन्टरनेसनलका सञ्चालक हर्ष चौधरीबाट ५ करोड ८ लाख ९४ हजारको बिगो दाबी मुद्दा दर्ता गरिएको छ ।

त्यसैगरी, काठमाडौं महानगपालिका–३२ मा रहेको बिग प्लान सप्लायर्स, बिग प्लान ब्याग उद्योग भक्तपुर, एनपी ट्रेड एन्ड सप्लायर्स र सम्मानित ट्रेड कन्सर्नले राजस्व छली गरेको अभियोगमा कुल २५ करोड ५७ लाख ९७ हजारको बिगो दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार बिग प्लान सप्लायर्स र बिग प्लान ब्याग उद्योगले २ करोड ६ लाख ६ हजार ५२३ रुपैयाँ मूल्य अभिवृद्धि कर र ४ करोड ९० लाख रुपैयाँ आय कर, एपी ट्रेड एन्ड सप्लायर्सले मूल्य अभिवृद्धि करतर्फ ३ करोड ७१ लाख र आयकरतर्फ ८ करोड ९८ लाख राजस्व छली गरेको प्रमाणित भएको छ ।

यसैगरी, सम्मानित ट्रेड कन्सर्नले मूल्य अभिवृद्धि करतर्फ १ करोड ७७ लाख र आयकरतर्फ ४ करोड १२ लाख रुपैयाँ चुहावट गरेको ठहर गर्दै उनीहरूविरुद्ध बिगो दाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले कोरोना महामारीले मुलुक संकटमा परेको मौका छोपेर विभिन्न प्रक्रिया अपनाई राजस्व छल्नेहरूविरुद्ध अब कठोर कारबाही थालिने चेतावनी दिएका छन् । आजको राजधानी दैनिकबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *