लकडाउन गरेर आफ्नो दायित्व नबिर्सन साझा पार्टीकाे आग्रह
इन्भेष्टोपेपर । बैशाख १५, २०७८
कोभिड १९ को दोस्रो लहरले देशको राजधानीसहित केही जिल्लामा भयावह स्थिति सिर्जना गरिसकेको अवस्थामा सङ्क्रमणको जालो तोड्न लकडाउन गर्नु अत्यावश्यक भएकाे जनाउँदै विगतको लकडाउनमा जस्तै नागरिकलाई घरभित्र राखेसँगै सरकारले आफ्नो दायित्व नभुलोस् भन्दै सरकारलाई आग्रह गरेकाेछ।
विवेकशील साझा पार्टीले सरकारलाइ निम्न ५ सूत्रीय सुझाब कार्यन्वयनकाे लागि आग्रह गरेकाेछ ।
१) सङ्क्रमणको दोस्रो लहरको अहिलेको सुरुवाती अवस्थामा नै केही अस्पतालमा अक्सिजन र आइसियु शय्यासहित जनशक्ति अभावले भयावह स्थिति देखिइसकेकाले हर सम्भव उपाय लगाएर तत्काल समस्या समाधान। अस्पतालहरूमा बिग्रिएका अक्सिजन प्लान्ट मर्मतदेखि सिलिन्डर आयातमा आवश्यक तदारुकता।
२) कोरोना परीक्षणलाई व्यापक बनाइ कन्ट्याक्ट ट्रेसिङमा जोड।
३) क्वारेनटिन तथा आइसोलेसन सेन्टरहरूको आवश्यक व्यवस्थासहित प्रभावकारी व्यवस्थापन।
४) दैनिक ज्याला मजदुरी गरेर साँझ बिहान छाक टार्ने वर्गका लागि लकडाउन अवधिमा स्थानीय सरकारका प्रतिनिधिहरूद्वारा नागरिक समूहहरूको सहयोगमा खाद्य सामग्री वितरणसहित आवश्यक रेखदेख।
५) कोभिड १९ विरुद्धको खोप केन्द्रहरूमा देखिएको भद्रगोलपूर्ण व्यवस्थापन सुधार गरी भिडभाड नियन्त्रण।
कोभिड १९ को सङ्क्रमण नियन्त्रण राज्य र नागरिकको संयुक्त र सुझबुझपूर्ण पहलकदमीबाट मात्र सम्भव हुने हुँदा विवेकशील साझा पार्टी यो महाव्याधिको कहरबाट यथाशीघ्र मुक्ति पाउन जिम्मेवार पूर्ण व्यवहारका लागि पार्टीका सदस्यसहित आम नागरिकलाई हार्दिक अपिल गर्दछ, विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
