वित्तीय साक्षरता नहुँदा रेमिट्यान्स बचत भएन : अर्थमन्त्री

Investopaper, असार १८, २०७६

अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय साक्षरता नहुँदा रेमिट्यान्सको उपयोग हुन नसकेको बताएका छन् । वित्तीय साक्षरताकै अभावले विदेशमा रहेका ५० लाख नेपालीले पठाएको रेमिट्यान्स खपतमै बढी उपयोग भएको उनले बताए । 

काठमाडौंमा मंगलबारदेखि सुरु भएको ‘एसिया प्यासफिक क्षेत्रमा वित्तीय उपभोक्ता अधिकार र शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘विदेशमा रहेका ५० लाख नेपालीले पैसा (रेमिट्यान्स) पठाउँछन्, तर बचत हुँदैन, कहीँ लगानी गरिँदैन,’ उनले भने, ‘वास्तवमा कहाँ गएर कसरी खाता खोल्ने, कहाँ राख्ने, प्रतिफल के आउँछ, लगानी कहाँ गर्ने भन्नेलगायत वित्तीय साक्षरता नभएकै कारण रेमिट्यान्स खपतमै मात्र उपयोग भइरहेको छ ।’

अर्थमन्त्री डा. खतिवडाले सबैभन्दा बढी वित्तीय साक्षरता महिलालाई दिनुपर्नेसमेत बताए । ‘वैदेशिक रोजगारीमा जाने ९० प्रतिशत नेपाली पुरुष छन् र उनीहरूले पठाउने रेमिट्यान्स नेपालमा रहेका महिलाले बढी व्यवस्थापन गर्छन्,’ उनले भने, ‘महिलालाई वित्तीय साक्षरता गराएमा रेमिट्यान्सलाई समेत बचत गर्ने तथा लगानी गर्ने बानी विकास हुन्छ ।’

वित्तीय साक्षरताभन्दा शिक्षा आवश्यक
सोही कार्यक्रममा अर्थमन्त्री खतिवडाले वित्तीय साक्षरताभन्दा पनि शिक्षामा बढी जोड दिनुपर्ने औँल्याए । ‘साक्षरता प्रक्रिया हो, यो क्रमशः हुँदै जान्छ, यो मात्रै पार्याप्त छैन,’ उनले भने, ‘हाम्रोजस्तो एकतिहाइ जनता निरक्षर भएको मुलुकमा शिक्षाकै आवश्यकता छ ।’ उनले समातामूलक आर्थिक विकासका लागि वित्तीय समावेशीकरण आवश्यक रहेको औँल्याउँदै सरकारले वित्तीय पहुँच र समावेशीतालाई प्राथमिकतामा राखेकोसमेत बताए । 

वित्तीय पहुँचप्रति प्रतिबद्ध छौँ : डेपुटी गभर्नर 
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले वित्तीय पहुँच, सरल वितीय सेवा र समावेशीताप्रति राष्ट्र बैंक प्रतिबद्ध रहेको बताए । ‘सबैतिर सबैलाई वित्तीय सेवा दिनकै लागि मुलुकका सम्पूर्ण स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्‍याउँदै छौँ,’ उनले भने, ‘अहिलेसम्म ७ सय ३० तहमा वाणिज्य बैंक पुगिसकेको छ, असार मसान्तसम्ममा सबै स्थानीय तहमा बैंक पुग्नेछन् ।’

साक्षरताका लागि सेबोनले छुट्टै संस्था खोल्ने
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वित्तीय साक्षरता तथा शिक्षा विस्तार गराउन छुट्टै संस्था स्थापना गर्ने सेबोनका अध्यक्ष डा. रेवतीबहादुर कार्कीले बताए । ‘वित्तीय शिक्षा र लगानीकर्ताको चेतना वृद्धिलाई संस्थागत बनाउन छुट्टै संस्था खोल्दै छौँ,’ उनले भने, ‘सेबोनकै अंग हुने गरी एक महिनाभित्र सेक्युरिटिज एन्ड फ्युचर मार्के इन्स्टिच्युट स्थापना गर्नेछौँ ।’ ओइसिडी र सेबोनले आयोजना गरेको कार्यक्रम बुधबारसम्म चल्नेछ ।

याे समाचार आजको नयां पत्रिका दैनिकमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *