शेयरमा लगानी गर्दा यी ५ कुरा कहिल्यै नबिर्सिनुहोस्।
- गौरब सुबेदी
शेयर बजारमा लगानी गरेर नाफा कमाउनु सबैको उद्देश्य हुन्छ। बढी रहेको बजार हेरेर सबैले कमाइरहेको देख्दा लोभिएर शेयर बजारमा छिर्ने पनि धेरै हुन्छन्। छोटो समयमा लगानी गरेर धेरै भन्दा धेरै नाफा कमाउने सोचले पनि धेरैलाई शेयर बजारमा तान्ने गर्छ। तर केही कुरा पनि नजानी र प्रलोभनमा परी गर्दा त्यसको नतिजा उल्टो आउँछ। यसकारण लगानी गर्दा जहिले पनि बुझेर र सोचेर गर्न जरुरी छ। यसरी लगानी गर्दा बजार घटेकै अवस्थामा पनि धैर्य गर्न सकिन्छ। तर आत्तिएर बिना सुझबुझ गरेको लगानीले सोचेजस्तो प्रतिफल नदिँदा लगानिकर्ताले धेरै नै घाटा र पिडा बेहोर्नु पर्छ।
शेयर किन्न गाह्रो छैन तर कुन कम्पनी को शेयर किन्ने भन्ने कुरा चाहिँ पक्कै गाह्रो छ। तलका ५ कुराले तपाईलाई शेयर कारोबार गर्दा राम्रो निर्णय लिन मद्धत गर्न सक्छ।
- जहिले पनि कम्पनी हेर्नुहोस्, शेयर हैन।
शेयरमा लगानि गर्दा जहिले पनि राम्रो कम्पनी छान्नुहोस्। यसको लागी कम्पनीको आधारभूत सुचांकहरु हेर्न सकिन्छ। कम्पनीको Balance Sheet, Profit/Loss Statement, Cash Flow Statement आदिको राम्रो अध्धयन गरेमा सबै आधारभूत सूचांकको बारेमा जान्न सकिन्छ। विशेषगरी कम्पनीको अधिकृत पुजी, जगेडा कोष, खुदनाफा, खर्च,प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, मूल्य आम्दानी अनुपात,खराब कर्जा आदिको बारेमा जान्न जरुरी छ। यस बाहेक कम्पनी सन्चालन हुने वातावरण,कम्पनीका प्रतिद्वन्दी, कम्पनीको व्यवस्थापन, कम्पनीले बाडेको पुरानो लाभांशको बारेमा पनि जान्नु उपयोगी हुन्छ। लगानीकर्ता माझ कम्पनीको छबि र बजारमा कम्पनिको पछील्लो समयमा कस्तो प्रदर्शन छ भन्ने कुरा नि जान्नुपर्छ।
- जटिल समयको लागी पूर्व तयारी गर्नुहोस्।
शेयर बजारमा उतार-चढाव आउनु सामान्य हो। लगानीकर्ताको लागी मुख्य चुनौती भनेको मुश्किल समयमा सम्यम र धैर्य भएर निर्णय गर्नु हो। त्यसैले आफ्नो पोर्टफोलियोमा भएको शेयरको राम्रो ज्ञान हुनु जरुरी छ। अप्ठ्यारो परिस्थितिमा कुन शेयर बेच्ने र कुन शेयरमा अडिक रहने कुराको निर्णय गर्न महत्तवपूर्ण हुन्छ। बजारमा आउने उतार-चढावबाट फाइदा लिनका लागि पनि पूर्व तयारी गर्न जरुरी छ।
- धेरै शेयर कारोबारमा नउल्झिनुहोस्।
शेयरमा लगानी गर्दा जहिले पनि लामो अवधिको सोच राखेर गर्दा उपयुक्त हुन्छ। यदि तपाई छोटो समयमा धेरै कमाउने सोचले बजार प्रवेश गर्नु भयो भने सोचे जस्तो परिणाम नआउन सक्छ। धेरै शेयर कारोबार गरेर धेरै कमाउने सोच राख्नु गलत हो। यसरी लगानी गर्दा कम्पनी भन्दा पनि शेयर मुल्यमा लगानी गरे जस्तो हुन्छ। शेयर मूल्यमा केन्द्रित भएर लगानी गर्दा चाहिने भन्दा बढी कारोबार गर्ने डर हुन्छ जसले घाटा पु-र्याउँछ। धेरे कारोबार गर्दा ब्रोकर कमिसन र अन्य शुल्कमा मा पनि तपाईले पैसा गुमाउनु हुन्छ। मूल्य घटबढ भन्दा पनि त्यसको कारण जानेर मात्र किन्ने बेच्ने निर्णय गर्नु उचित हुन्छ।एउटा कारोबारको घाटा उपर गर्न अर्को कारोबार गर्ने सोचले कहिले पनि फाइदा हुँदैन।
- शेयर किन्ने रणनिति बनाउनुस्।
शेयर बजारमा शेयर किन्दा कहिले पनि आतिएर किन्न जरुरी छैन। बढी रहेको बजारमा कमाउने लोभमा होम्मिदा नराम्रो प्रतिफल भोग्नु पर्छ। बजार घट्ने बढ्ने कुरा यकिनका साथ जान्न नसकिने हुँदा समय लिएर शेयर खरिद गर्नु पनि उपयुक्त हुन्छ। जस्तै घटिरहेको शेयर बजारमा प्रत्येक हप्ता या महिनामा अलि अलि गर्दै शेयर किन्नु पनि ठीक हुन्छ। एकै चोटि शेयर किन्दा पनि हुन्छ र यदि तपाई आफ्नो पोर्टफोलियोमा बिश्वस्त हुनुहुन्छ भने प्रत्येक महिना सोही कम्पनीका थप शेयर खरिद गर्न सक्नुहुन्छ। अर्को कुरा एउटै क्षेत्रको मात्र शेयर किन्नु भन्दा सबैको किन्दा जोखिम कम हुन्छ। राम्रो रणनिति लिएर लगानी गर्दा बजारको घटबढले तपाईलाई कम प्रभाव पार्छ।
- आफ्नो भावना प्रति नियन्त्रण राख्नुहोस्।
शेयर बजारमा लगानी गरेर सफल हुन सबैभन्दा ठूलो कुरो आफ्नो भावनालाई नियन्त्रणमा राख्नुपर्छ। जति नै ज्ञान भएपनि यदि तपाई बजारको उथलपुथलमा आफूलाई नियन्त्रित गरेर सुझबुझका साथ निर्णय लिन सक्नु हुन्न भने तपाईले सोचे जस्तो प्रतिफल पाउनुहुन्न। माथी भने जस्तै लगानीकर्ताहरुले आफ्नो भावना नियन्त्रण गर्न नसक्दा धेरै भन्दा धेरै कारोबार गरेर झन् बढी घाटा बेहोर्नुपर्छ।
जहिले पनि शेयरमा लगानी गर्दा लामो समयमा प्रतिफल पाउने हिसाब राखेर गर्नु उचित देखिन्छ। आज बिउ छरेर भोलिनै कहाँ उत्पादन हुन्छ र? त्यसैले आफ्नो लगानीलाई पनि बढ्ने अवसर दिनुहोस्। दुई दिनको आँधी-हुरी बाट निराश हुनु कतिको ठीक हो आफै सोच्नु होस्। यदि त्यो बिउ राम्रो छ भने तपाईको लगानी र मिहिनेत पक्कै पनि खेरा जाँदैन।
विश्वको सबैभन्दा सफल शेयर लगानीकर्ता वारेन बफेटले भने जस्तै शेयरमा पैसा कमाउनु भन्दा पनि नगुमाउनु अझ बढी जरुरी छ।
