सुनिन छाडे मालश्री धुन, देखिएनन् चंगा

इन्भेष्टोपेपर । आश्विन ३०, २०७८

गलेश्वर । दशैंको पहिलो दिन घटस्थापनादेखि नै  टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन । 

बिहानै घर, कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैं आएको संकेत हुने गरे पनि म्याग्दीमा भने केही समययता मालश्रीका स्वर सुनिन छोडेका छन् ।

पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न र सुन्न नपाएको बेनीबजारका श्याम हुमेनले बताउनु भयाे । ‘घटस्थापनादेखि पूर्णिमासम्म दुर्गा भवानीको भजन गाउँदै निकाल्ने एउटा धुन नै मालश्री हो’, हुमेनले भन्नुभयाे । 

आजभोलिजस्तो संगीत सुन्ने सुविधा नभएको त्यो समयमा घरघरमा र टोलटोलमा सुनिने मालश्रीको धुनमा गाइने भजनले नै दशैंको महत्व बढाउने गर्दथ्यो । तर, आजकल रेकर्ड भएर रेडियो टिभी र मोबाइलमा मात्रै मालश्री सुन्न पाइने उहाँको भनाइ छ ।

सूचना र सञ्चारको विकाससँगै युवाहरु आधुनिक पाश्चात्य संस्कृतितर्फ आकर्षित भएका कारण धुन बजाउन जान्ने मान्छेको कमी, गाउने मान्छेको अभाव र परम्परागत लोक संस्कृतिमाथि आजका युवाको चासो नभएकाले नै मालश्री धुन सुनिन छाडेको बगरफाँटका ८६ वर्षिय वेदप्रसाद उपाध्यायले बताउनु भयाे । 

पछिल्लो समयमा मालश्री भाका र धुन रेडियो टिभीमा मात्र सुन्न पाइने गरेको गाउँघरमा सुनिन छोडेको उहाँको भनाइ छ । 

केही बूढापाका वा दक्खल भएका व्यक्तिले मात्र मालश्री धुन बजाउन र भजन कीर्तन गर्नसक्ने भएका कारण समय क्रमसँगै मालश्री लोप हुँदै गएको जानकारहरु बताउँछन् । नेपाली संस्कृतिभन्दा पश्चिमा संस्कृतिमा रमाउन थालेपछि यसको लोप हुँदै गएको खड्गभवानी कोत पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरे बताउँनुहुन्छ । 

किंवदन्तीअनुसार देवीको गुनगानका लागि यो धुन बजाइने हो । पुरानो मान्यताअनुसार देवीका लागि आवश्यक पर्ने राग मालश्रीको उत्पत्ति भएको हो । मालश्री धुनलाई शास्त्रीय धुन भनिन्छ ।

त्यसैगरी दशैंमा चंगा उडाएर रमाइलो गर्ने पुरानो चलन पनि अहिले लोप भएको छ । मनोरञ्जन, प्रतिस्पर्धा र धार्मिक विश्वासको रूपमा दशैंमा उडाउने गरिएको चंगा पछिल्लो समय खुला आकाशमा रङ्गमय चंगा उडेको कतै नदेखिएको मालिकाका शिद्ध पुनले बताउनु भयाे । 

अहिलेका युवा पुस्ता मोवाइल, ट्याबलेट, ल्यापटपजस्ता सूचना प्रविधिका साधनहरुमार्फत  मनोरञ्जन प्राप्त गर्ने होडबाजीमा लागेका कारण चंगा उडाउने चलन लोप भएको जानकारहरु बताउछन् । अग्ला अग्ला भवन ठडिएका कारणले पनि चंगा संस्कृति लोप हुँदै गएको उहाँहरुको भनाइ रहेको छ । 

दशैंलाई मासुका परिकार खाने, साथी संगातीहरु भेट हुने,रमाइलो गर्ने, नयाँ कपडा लगाउने र चंगा उडाउने पर्वका रूपमा मानिन्छ । केही वर्षअघिसम्म तिजको लगत्तै आकाशमा रङ्गीबिरङ्गी चंगा उडेको दृश्य देखिन्थ्यो तर यो पटकको दशैंमा एउटै चंगा उडेको आफूले नदेखेको बेनीका युवा किशोर श्रेष्ठले बताउनु भयाे ।  

मनोरञ्जनका सामग्रीको तीव्र विकाससँगै अहिलेका पुस्ता चंगा उडाउनेभन्दा पनि त्यही मनोरञ्जनका सामग्रीमै रमाउनु र चंगा उडाउन खुला ठाउँ अभाव हुँदा घरको छतबाट चंगा उडाउँदा दूर्घटना हुन थालेपछि अहिले यसप्रतिको आकर्षण घटेको खबराका राजाराम शर्माले बताउनु भयाे । अचेल लट्टाई त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *