सुरक्षाकर्मीकाे पाेसाकका कपडा स्वदेशमै उत्पादन हुने

इन्भेष्टोपेपर । फागुन १५, २०७८

पर्सा ।  सुरक्षाकर्मीको पोसाकका लागि आवश्यक कपडा स्वदेशमै उत्पादन गर्न थालिएको छ । चालू आर्थिक वर्षका लागि सुरक्षाकर्मीका लागि आवश्यक पर्ने पोसाक (युनिफर्म)को कपडा वीरगञ्जमा रहेका दुईवटा कपडा उद्योगले तयार गरिरहेका छन् ।

सुरक्षा निकायबाट प्राविधिक अनुगमन, परीक्षण र स्वीकृतिपछि वीरगञ्जमा रहेका क्राउन टेक्सटाइल्स प्रालि र कोहिनुर टेक्सटाइल्स् प्रालिले विगत तीन महिनादेखि सुरक्षाकर्मीका कपडा तयार गरिरहेको छ । भारतबाट कच्चापदार्थ ल्याएर क्राउन टेक्सटाइल्सले कपडा बुन्छ भने कोहिनुर टेक्सटाइल्सले उक्त कपडामा बुट्टा भर्ने (प्रिन्ट) गर्छ ।

“तीन महिनादेखि हामी दुईवटा उद्योग मिलेर सुरक्षाकर्मीको पोसाकको कपडा उत्पादन गदैँ आएका छौँ,” क्राउन टेक्सटाइल्सका सञ्चालक पीताम्बरकुमार मुनकाले भन्नुभयो । नेपाली सेना र सशस्त्र प्रहरीको प्राविधिक टोलीले उद्योगको निरीक्षण गरी गुणस्तर प्रमाणित गरेपछि यी उद्योगले उत्पादन सुरु गरेको मनकाले बताउनुभयो । यी उद्योगले कपडा उत्पादन गर्न चाहिने धागो, रङ्ग र रसायन भारतबाट ल्याउँछन् । यसबाट उत्पादन भएको कपडामा लुपेजर मेसिनबाट ‘प्रिन्ट’ गर्छन् ।

कपडा आपूर्तिका लागि टेन्डर प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भन्नुभयो, “स्वदेशी उत्पादन १५ प्रतिशत महँगो भए पनि खरिद गर्न सकिने नीतिअनुसार हामीले प्रक्रिया अगाडि बढाएको हौँ । ”

अब मुलुकका करिब दुई लाख १५ हजार सुरक्षाकर्मीका लागि आवश्यक पोसाक स्वदेशमै उत्पादन गरी आपूर्ति हुने भएको हो । चालू आर्थिक वर्ष नेपाली सेनाले छ लाख, सशस्त्र प्रहरीले तीन लाख पचास हजार र नेपाल प्रहरीले दुई लाख ७० हजार मिटर कपडा माग गरेका छन् । यसको टेन्डर एसडी स्पलार्यस र जय सलिना इन्टरप्राइजेजले पाएको एसडी स्पलार्यसका सञ्चालक ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो । सञ्चालक बस्नेतले टेन्डर स्वीकृत भइसकेकाले कपडा पठाउने काम भइरहेको बताउनुभयो ।

यसअघि ५० करोड रुपियाँभन्दा बढीको कपडा भारत र चीनबाट आयात हुदैँ आएको थियो । तीनै निकायका सुरक्षाकर्मीका लागि चाहिने कपडा स्वदेशमै उत्पादन हुन थालेपछि विदेशी मुद्राको बचत, कपडा आपूर्तिको झन्झटिलो प्रक्रियाबाट मुक्ती र रोजगारी सिर्जना भएको छ । यसबाट प्रत्यक्ष र परोक्ष रूपमा ३५० जनाभन्दा बढीले रोजगारी पाएको बस्नेतले बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *