नवलपरासीका किसानको अदुवाखेतीतर्फ आकर्षण बढ्दै

इन्भेष्टोपेपर । फागुन १५, २०७८

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसान अदुवाखेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले बताएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शंकर पौडेलले पछिल्लो समय अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताउनुभयाे ।

आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको ८७० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकोमा आठ हजार ९९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताउनुभयाे । त्यस्तै आव २०७७/७८ मा ९०० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा ९ हजार ८०० मेट्रिक टन उत्पादन भएको उहाँको भनाइ छ ।   
 
चालू आव २०७८/७९ मा जिल्लाको ९५० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकोमा ९ हजार ९५० मेट्रिक टन  मात्रै उत्पादन भएको छ । अदुवाखेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताउनुभयाे । जिल्लामा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १० दशमलव ३७ मेट्रिक टनदेखि १० दशमलव ८९ मेट्रिक टन मात्र रहेको पौडेलको भनाइ छ ।

जिल्लामा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौं, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा विक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर विक्री गर्ने गरिएको जानकारी दिनुभयाे । अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवाखेतीमा आकर्षित भएका पौडेलले बताउनुभयाे । जिल्लाको पहाडी क्षेत्रमा अदुवाखेती राम्रो हुने गरेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *