११ सय वर्ष पुरानो गाडधन फेला पर्‍यो

इन्भेष्टोपेपर । भाद्र ११, २०७७

मध्य इजेरलस्थित एउटा पुरातात्त्विक स्थलमा काम गरिरहेका एक स्वयंसेवी युवकले ४२५ वटा प्राचीन असर्फीहरू भएको गाडधन फेला पारेका छन्।

ती सुनका सिक्काहरू १,१०० वर्षअघि माटोको एउटा भाँडोमा राखेर त्यहाँ गाडिएको विश्वास गरिएको छ। ती सिक्काहरूको कुल तौल ८४५ ग्राम छ।

जति बेला ती सिक्काहरू गाडियो त्यति बेला त्यो ठूलो धन थियो र त्यसले उक्त क्षेत्रमा एउटा भव्य घर किन्न पुग्ने अनुमान गरिएको छ। कसले ती सिक्काहरू लुकायो र किन पछि झिकेन भन्ने कुरा रहस्यकै गर्भमा छ।

“एघार सय वर्षअघि यो धन गाड्ने व्यक्तिले पछि निकाल्ने विचार गरेको हुनुपर्छ। उसले उक्त भाँडो नसरोस् भनेर काँटी पनि ठोकेको रहेछ,” इजरेलको पुरातत्त्व हेर्ने निकायमा उत्खनन विभागका निर्देशनकहरू लियाट नादाभ-जिभ र एली हाड्डाडले एउटा विज्ञप्तिमा भनेका छन्।

उनीहरूका अनुसार त्यति ठूलो परिमाणमा सुनका सिक्का फेला पर्नु दुर्लभ मानिन्छ। “सुन धेरै मूल्यवान् भएकाले पुस्तौँदेखि पगालेर फेरि प्रयोग गरिने भएकाले हामी पुरातात्त्विक उत्खननमा प्रायः सुनका सिक्का भेट्दैनौँ,” विज्ञप्तिमा उल्लेख छ।

ती असर्फीहरू फेला पार्ने युवक ओज कोहेनले आफूले पहिला भुइँ खनेर माटो निकालेपछि मसिनो पातजस्तो वस्तु देखेको बताए। “फेरि हेर्दा ती वस्तुहरू सुनका सिक्का पो रहेछन्,” उनले भने।

प्राचीन सिक्काका जानकार रोबर्ट कूलका अनुसार उक्त गाडधनमा सुनले बनेका ‘दिनार’ बाहेक २७० वटा सुनका साना टुक्रा पनि थिए। ती टुक्राहरू असर्फी काटेर खुद्रा पैसाका रूपमा प्रयोग गरिन्थ्यो।

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *