६२ सन्तानका अभिभावकः छोरा जन्माउने आशै आशामा १३ सन्तान, बर्गेल्तै नातिनातिना
Investopaper, भाद्र ०३, २०७६
पाल्पा – छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिनुभएको छ । १३ वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिनुभएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बन्नुभयो । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिनुभएको हो । नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको परिवारमा खुशी छायो ।
“समाजमा छोरा नजन्माउने हो भने पहिले मेलापात, सहयोग आदानप्रदान केही पनि चल्थेन, आफ्ना लागि त छोरी भएपछि चित्त बुझाएकै थिए तर समाजकै लागि छोराकै आशै आशामा १३ सन्तानको जन्म दिएको हुँ”, उहाँले भन्नुभयो । अहिले उहाँ छोराछोरी, नातिनातिना, पनातिपनातिना गरी ६२ जनाको अभिभावक हुनुहुन्छ । छोराछोरी सबैले उन्नति, प्रगति, विभिन्न पेशा–व्यवसाय गरेको देख्दा र सुन्दा उहाँ खुशी हुनुहुन्छ ।
अहिलेसम्म एक छोरा, १२ छोरी, ३८ नातिनातिना र ११ पनाति पनातिना छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर, यो सत्य घटना हो — उनले छोराको लोभमा १३ सन्तानलाई जन्म दिइन् । ६७ वर्षीया सुमित्रा विक र ७६ वर्षीय नरबहादुर विक अहिले ६२ सन्तानका अभिभावक हुन् । सुमित्राले १३ सन्तानलाई जन्म त दिइन् । तर, सबै छोरा छोरीको नाम पनि सम्झन मुश्किल हुन्छ । अझै त्यसमा ३८ जना नाति नातिनीको नाम कहाँ सम्झन सक्छिन् र ? नाम सम्झन निकै सास्ती नै हुन्छ । पनाति पनातिना त कुन छोरीका हुन् उनलाई हेक्का नै हुँदैन ।
“बाह्र छोरा तेह्र नाति, हलो र जुवा बूढाको काँधमाथि” भन्ने उखान हाम्रो समाजमा अझै सुनिए पनि उनका नातिनातिना उखानमा भन्दा तेब्बर बढी छन् । नरबहादुरले छोराको लोभमा छोरी बढी जन्माए । हुन त नरबहादुर पनि आठ छोरीपछि मात्र जन्मेका हुन् । उनी पनि छोराजस्तै धेरै बहिनीका प्यारा एक्ला भाइ हुन् । त्यसै पनि एकपटक छोराको जन्म हुन्छ भन्ने आशा मनमा कहिले पनि हराउन नसक्दा परिवार ठूलो बन्यो ।
पहिला पहिला अशिक्षा र पुरानो संस्कारले जगेडिएको हाम्रो समाजमा छोरीलाई भन्दा छोरालाई धेरै महत्व दिने चलन थियो । अहिले भने छोरा नै जन्माउनुपर्छ भन्ने पुरानो संस्कार परिवर्तन भएको छ । मेलापात उकाली ओराली गरेर १३ सन्तान हुर्काउन पाउँदा आफूलाई खुशी लागेको विकका श्रीमती ६४ वर्षीय सुमित्रा विक बताउनुहुन्छ ।
“कोही काखमा, कोही पेटमा, कोही भर्खर बामे सर्दै गरेका सन्तानको रेखदेख गर्नैपर्यो, मेलापात, ढिकी, जाँतो नगरीकन खान पाइँदैनथ्यो, दिनभर मेलापात छोराछोरी बोकेर गरिन्थ्यो, ढिकी, जाँतो गर्न बिहान ३ नबज्दै उठ्नुपर्ने”, उहाँले दुःखका अनुभूति सुनाउनुभयो ।
— रासस
