७८ प्रतिशत नेपाली बीमाको दायरा बाहिर

इन्भेष्टाेपेपर ।  मङ्सिर ४, २०७७

काठमाडौं । पछिल्लो समय बीमाको दायरा बढ्दै गए पनि अझै ७८ प्रतिशत नेपाली बीमाको दायराभन्दा बाहिर देखिएका छन् । अर्थ मन्त्रालयले हालै जारी गरेको चालू आवको पहिलो त्रैमासिक प्रतिवेदनले यस्तो देखाएको हो ।

मन्त्रालयको प्रतिवेदनअनुसार चालू आवको असोजसम्म २२ प्रतिशत नेपाली जनतामा जीवन बीमाको पहुँच विस्तार भएको छ । अझै ७८ प्रतिशत नेपाली बीमाको दायराभन्दा बाहिर रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ । गत आवको सोही अवधिमा बीमाको पहुँच २० दशमलव ४ प्रतिशत नेपालीमा पुगेको थियो । पछिल्लो १ वर्षमा १ दशमलव ६ प्रतिशत थप नेपालीमा बीमाको दायरामा विस्तार भएको छ ।

कोरोना नियन्त्रण गर्न बन्दाबन्दी नगरेको भए असोजसम्म ३५ देखि ४० प्रतिशत नेपालीमा बीमाको पहुँच पुग्ने बीमा समितिको अनुमान थियो । तर, गत चैत ११ गतेदेखि लामो बन्दाबन्दा लगाउँदा त्यो सम्भव भएन । यद्यपि, समितिले असोजसम्म २७ प्रतिशत नेपालीमा बीमाको पहुँच पुर्‍याउने लक्ष्य लिएको थियो । तर, त्यसअनुसार बीमाको पहुँच विस्तार गर्न नसकिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

‘कोरोना भाइरसको रोकथाम गर्न निषेधाज्ञालगायत प्रतिबन्धका कारण बीमा व्यवसाय स्वतः प्रभावित भयो,’ उनले भने, ‘फलस्वरूप समीक्षा अवधिमा सोचेअनुरूप बीमाको दायरा विस्तार गर्न सकिएन ।’ कोरोना भाइरसले सृजना गरेको यो विषम परिस्थितिमा २२ प्रतिशत नेपाली जनतामा बीमाको पहुँच पुग्नु सन्तोषजनक नै भएको उनको भनाइ छ ।

‘नेपालमा बीमा व्यवसायको इतिहास ७ दशकभन्दा लामो छ । तर, लामो समयसम्म बीमा बजार चलायमान हुन सकेको थिएन । केही वर्षअघिसम्म बीमाको पहुँच ७/८ प्रतिशत नेपालीमा मात्र थियो,’ उनले भने, ‘बीमा बजार चलायमान हुन लागेको ५/६ वर्ष भयो । यो अवधिमा बीमाको पहुँच उलेख्य मात्रामा बढेको छ ।’

चालू आवमा बीमाको पहुँच ३० देखि ३५ प्रतिशत नेपालीमा पुग्ने समितिको अनुमान छ । ‘कोरोनाको महामारी नभएको भए बीमाको पहुँच अझै बढ्ने थियो । तर, त्यस्तो देखिएन,’ पौडेलले भने, ‘तर, चालू आवमा ३० प्रतिशतभन्दा बढी जनतामा बीमाको पहुँच पुग्ने अपेक्षा गरेका छौं ।’ समीक्षा अवधिसम्म वैदेशिक रोजगार बीमासहित भने २५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ ।

बीमाको पहुँच विस्तार गर्नलाई अबका दिनमा सूचना प्रविधिलाई मुख्य प्राथमिकतामा राखिने पौडेलले बताए । साथै, बीमा कम्पनीहरूलाई पनि सोहीअनुसार नै निर्देशनहरू दिँदै आएको उनको भनाइ छ । ‘बीमा गर्न अभिकर्ताहरू आम मानिसको घरघरमा जानुपर्ने हुन्छ । तर, अहिले कोरोना भाइरसका कारण त्यसमा चुनौती देखिएको छ,’ उनले भने, ‘तसर्थ, अब अनलाइनमार्फत नै बीमा पोलिसी किनबेच गर्ने व्यवस्था गर्न आवश्यक छ । र, बीमा कम्पनीहरूले पनि सोहीअनुसार काम गर्दै आएका छन् ।’ यसरी काम गर्दा चालू आवमा लक्ष्यअनुसार बीमाको पहुँच विस्तार गर्न सकिने उनको अनुमान छ । आजको आर्थिक अभियान दैनिकबाट ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *