टेलिकमको बाह्रौँ वार्षिक साधारणसभा सम्पन्नः लाभांश पारित
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारणसभा पौष २९ सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट प्रति शेयर ४५ रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारण सभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७५।७६ को लागि सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७६ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७६/७७ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाश जंग थापा र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै निजको पारिश्रमिक समेत पारित गरेको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको बाह्रौँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिवेदन पेश गर्दै उहाँले शेयरधनीहरूको लगानीको प्रतिफल सुनिश्चित हुनेगरी कम्पनीको दीर्घकालीन विकास तथा समृद्धिको लागि सञ्चालक समिति क्रियाशील रही आएको तथा कम्पनीलाई सबल, अग्रणी संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले गत आर्थिक वर्षमा हासिल गरेका प्रमुख उपलब्धिहरुबारे जानकारी गराउनु भएको थियो ।
मुलुकको विकट तथा ग्रामीण क्षेत्रहरूमा समेत सञ्चार तथा सूचना प्रविधि उपलब्ध गराई मुलुकमा व्याप्त डिजिटल डिभाइड न्यूनीकरण गर्ने र डिजिटल इन्क्लुजनको अवधारणालाई साकार पार्ने सिलसिलामा कम्पनीको योगदान महत्वपूर्ण रहेको बताउदै उहाँले देशव्यापी रुपमा आवश्यक पूर्वाधार विकासमा कम्पनीले विशेष ध्यान दिएको बताउनु भयो ।
त्यसैगरी कम्पनीले जिम्मेवार राष्ट्रिय निकायको रुपमा सामाजिक उत्तरदायित्वका कार्यहरु र संस्थागत सुशासन तथा जोखिम व्यवस्थापनका लागि गरेका कार्यको समेत जानकारी दिनुभयो । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा कर तथा गैरकरवापत सरकारी राजस्वमा ३३.३१ अर्ब रुपैयाँ दाखिला गरेको समेत उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष सुवेदीले कम्पनीको भ्वाइस र डाटा सेवाको बजार हिस्सा क्रमशः ३.९३ र ४.७५ प्रतिशतले वृद्धि भई ५४.८३ र ४८.४१ प्रतिशत पुगेको जानकारी दिनुभयो । साथै उहाँले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आफ्नो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको संख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
प्रविधिको तीब्र विकास भएसँगै विश्वव्यापी रुपमा भ्वाइस सेवाको व्यापारमा शिथिलता आई भ्वाइसको व्यापार क्रमिकरुपमा डाटा तथा अन्य भ्यालु एडेड सेवामा स्थानान्तरण हुने क्रम जारी रहेको बताउनु भयो । साथै तीब्र प्रतिस्पर्धाको कारणले भ्वाइस तथा डाटा सेवाको महशुलमा व्यापक कटौतीका बाबजुद कम्पनीले कुल राजस्व र नाफा क्रमशः रू. ४३.८४ अर्ब र रू. ९.७६ अर्ब कायम गर्न सफल भएको जानकारी दिनुभयो ।
विभिन्न कारणले कम्पनीको नाफा घट्न गएको दृष्टान्त पेश गर्दै उहाँले वायरलेस प्रविधिको LTE Advanced फोरजी एलटीई (4G/LTE) मोबाइल सेवाको विस्तार, एउटै लाइनबाट गुणस्तरीय टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजनसमेत चलाउन सकिने एफटीटीएच प्रविधिको विस्तार, डाटाको मागलाई बढाउने भ्यालु एडेड सेवाहरूको विस्तार साथै अन्तर्राष्ट्रिय रोमिङ सेवाको विस्तार र सेवाहरूको गुणस्तर सुधारलगायतका कार्यहरूमा कम्पनीले थप तीब्रता दिएकोले चालू आर्थिक वर्षदेखि कम्पनीको राजस्व वृद्धि हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
उहाँले मुलकको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउँदै गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवाहरू सर्वसुलभ तरिकाले उपलब्ध गराउन चालू आर्थिक वर्षमा देशभरी 4G LTE प्रविधिको GSM सेवा उपलब्ध गराउनुुका साथै नेटवर्क कभरेज नभएका र आयको दृष्टिकोणले तुलनात्मकरुपमा पछि परेका क्षेत्रहरूमा GSM सेवा विस्तार गर्ने, वायरलाइन सेवातर्फ अप्टिकल फाइबर नेटवर्क/एफटीटीएच प्रविधिबाट स्तरीय र भरपर्दो Fixed Broadband इन्टरनेट तथा भ्वाइस सेवा विस्तार गर्ने, दूरसञ्चार सेवा प्रदान गर्नका लागि मध्यपहाडी लोकमार्ग तथा सोसँग जोडिएका क्षेत्रहरूमा अप्टिकल फाइबर नेटवर्क तथा Microwave Radio Link विस्तार गर्ने , कम्पनीले उपलब्ध गराउने सेवाहरूमा नियामक निकायले तोकेको मापदण्ड अनुसारको KPI (Key Performance Indicators) कायम राखी नियमित अनुगमन तथा निरीक्षण गर्ने, कम्पनीद्वारा प्रदत्त दूरसञ्चार सेवाहरूमा विभिन्न सूचनामूलक मनोरञ्जनात्मक तथा नवीनतम Value Added सेवाहरू सञ्चालन गरी राजस्व वृद्धि गर्ने, सेवामा अवरोध आउन नदिन अन्य सिस्टमका अतिरिक्त विद्यमान बिलिङ सिस्टममा आवश्यक क्षमता वृद्धि गर्ने, सेवाहरूको विकास, विस्तार र प्रभावकारी बजारीकरण गर्न अनुसन्धान तथा विकास कार्यलाई निरन्तर अघि बढाउने लक्ष्यहरू निर्धारण गरिएको जानकारी दिनुभयो ।
बढ्दो विश्वव्यापीकरणसँगै दूरसञ्चार क्षेत्रमा भइरहेको प्रतिस्पर्धाको कारणले निर्णय प्रक्रिया, कार्यशैली, संस्थागत संरचनामा सुधार गरी कम्पनीलाई परिवर्तनमुखी, व्यावसायिक तथा गतिशील संगठनको रुपमा विकास गर्न कम्पनीको संरचनालाई परिमार्जन गरिएको बताउँदै कम्पनीमा सञ्चालनमा रहेका योजनाहरू निर्धारित समयमा सम्पन्न गर्न, सोको अनुगमन गर्न र कम्पनीका काम कारवाहीलाई प्रभावकारी बनाउन कम्पनी व्यवस्थापन र विभागीय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता गरिएको बताउनु भयो । यसबाट योजनाहरू निर्धारित समयमा कार्यान्वयन हुने, पूर्वाधार तथा नेटवर्क विस्तार हुने र कम्पनीको समग्र राजस्व तथा ग्राहक आधार वृद्धि हुनुका साथै प्रादेशिक संरचना अनुरुप कम्पनीको संस्थागत संरचनाको प्रारुपलाई परिमार्जित गर्नसमेत कम्पनीबाट पहल भइरहेको जानकारी दिनुभयो ।
कम्पनीका अध्यक्षले साधारण सभामा शेयरधनी महानुभावहरुले उठाउनु भएका विभिन्न सुझावहरु प्रति आभार व्यक्त गर्दै प्राप्त सुझावहरुको नीतिगत र व्यावहारिक रुपले सम्भव भएसम्म कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बाह्रौँ साधारण सभाले पारित गरेबमोजिमको लाभांश रकम २०७६ माघ १ गतेदेखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने ब्यवस्था गरिएको विज्ञप्तिमा जनाइएकाे छ ।
