साप्ताहिक माैसमी अनुमान तथा कृषि कर्म

इन्भेष्टोपेपर । आश्विन १६, २०७

मौसमी सारांश: (१५ – २१ असोज, २०७८)

काठमाडौं ।  गत साता देशको धेरैजसो केन्द्रहरुमा वर्षा मापन भएको छ। सुदूर-पश्चिम प्रदेश बाहेकका अन्य प्रदेशका केहि जिल्लाहरुमा ५० मि.मि. भन्दा बढी वर्षा मापन भएको छ। तराईका सबै स्थानहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम ३० डि.से. भन्दा बढी र केहि स्थानहरुमा न्यूनतम तापक्रम २५ डि.से. भन्दा बढी मापन गरिएको छ।

• प्रदेश नं-१, प्रदेश नं-२, वागमती र गण्डकी प्रदेशमा साताको अधिकांश दिनहरूमा सामान्य बदली रहने तथा अन्य प्रदेशहरुका तराईमा आंशिक देखि सामान्य बदली र पहाडी भू-भागमा सामान्य बदली रहने सम्भावना देखिन्छ।

• प्रदेश नं-१ र प्रदेश नं-२ का धेरै भू-भागहरु, वागमती र गण्डकी प्रदेशका केहि भू-भागहरु तथा अन्य प्रदेशमा साताको सुरुमा केही तथा मध्य र अन्त्यतिर थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

• साताको मध्यतिर प्रदेश नं-१ र प्रदेश नं-२ तथा अन्त्यतिर गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।

• प्रदेश नं-१, प्रदेश नं-२, वागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केहि स्थानहरुमा तथा अन्य प्रदेशका हिमाली भूभागहरुमा थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।

• देशका हिमाली भू-भागमा न्यूनतम र अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर देशभरका तराई र पहाडी भू-भागमा सामान्य बृदि हुन सक्ने देखिन्छ।

कृषि सारांश:

• धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि राम्रोसँग घाममा सुकाएर सेल्फोस राखी खायन धानबाट अलग्गै भण्डारण गर्नुहोस्।

• धानमा फुल फुल्ने चरण चिस्यानको हिसाबले संवेदनशील हुने हुँदा खेतको चिस्यान निरीक्षण गरी सिंचाई व्यवस्थापन कार्य गर्नुहोस्।

• धानबालीमा बाला पसाएपछि दुध भरिने अवस्थामा पतेरो कीराको प्रकोप देखिने हुँदा नोक्सानी कम गर्नको लागी खेत भित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको बैकल्पिक आश्रय नष्ट गर्ने; प्रकाश पासोको प्रयोग गरि बयस्क कीरालाइ मार्ने तथा डर्टी ट्रयापको प्रयोग गर्नुहोस्।

• तराई तथा भित्री मधेशको लागि हिउँदे मकैका सिफारिस जातहरु: मनकामना-१, अरुण -३, अरुण -४, अरुण -६, रामपुर हाइब्रिड -२, रामपुर हाइब्रिड -४, रामपुर हाइब्रिड -६, खुमल हाइब्रिड मकै -२ र पोसिलो मकै-२ मध्येबाट उपलब्ध जात छनौट गरि रोप्नुहोस्।

• मध्य पहाड देखि उच्च पहाडको लागि सिफारिस गरिएका तोरीको जात: लुम्ले -१, मध्य पहाडको लागि प्रगति र सुर्खेत स्थानिय तोरी -३, बेंसीको लागि उन्नति र प्रिती, तराई र भित्री मधेशको लागि विकास, प्रगति, उन्नति, प्रिती, मोरङ् तोरी-२, सुर्खेत स्थानिय तोरी -३ तथा नवलपुर स्थानिय-४ मध्ये उपलब्ध जातहरुलाई बेभिष्टिन २ ग्राम प्रति के.जी. का दरले उपचार गरी लगाउनुहोस्।

• यो समयमा सुन्तलाजात फलफूल बालीमा औँसा कीराको गतिविधिले झरेको फलहरुलाई खाल्डो खनेर गाड्नुका साथै वगैँचाको सरसफाई गर्नुहोस्।• तराई, भित्री-मधेश तथा बेँशीका लागि आलुका सिफारिस जातका बीउ कोल्ड स्टोरबाट झिकी ओभानो ठाँउमा फिंजाएर टुसाउन दिनुहोस्।

• मध्यपहाडको बारी जग्गामा भदौमा लगाएको आलुबालीमा गोडमेल पश्चात ४.३५ के.जी. युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।

• २०-२५ दिन पुगेको खुमल चौडापात, खुमल रातोपात, मार्फा चौडापात जस्ता रायोका जातहरुको तयारी बिरुवाहरु साँझपख सार्नुहोस्।

• मध्यपहाडी भेगमा बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्। यो समयमा बकुल्ला सिमी लगाउनु भएमा लाही कीराको प्रकोप कमी हुने हुँदा बढी आम्दानी लिन सकिन्छ।• मिनो अर्ली र प्यूठाने रातो जातको मूला रोप्नुहोस्।

• चाडपर्वको समयमा विभिन्न ठाँउहरुबाट आयात हुने खसी, बोका, भेडा, च्याङ्ग्राबाट पिपिआर/खोरेत रोग भित्रिने संभावना बढी हुने भएकोले आफ्ना खोर-गोठका पशुहरुलाई खरीद गरिएका नयाँ पशुवस्तुहरुबाट टाढै राख्नुहोस्।

• स्थानीय खुल्ला रुपमा पालिएका कुखुराहरुलाई रानीखेत रोग विरुद्द एफ१ एन.डी. क्लोन जातका खोप शुद्ध पानीमा घोलेर खुवाउनुहोस्।

• यो समयमा रेन्बो ट्राउट माछा भुराको पेटमा पानी जम्ने समस्या देखिने हुँदा यस्तो लक्षण देखिएमा माछाको दानामा ल्यासिक्स ५० मिलिग्राम प्रति के.जी. शारीरिक तौलका दरले सात दिनसम्म बिहानको पहिलो दानामा मिसाई खुवाउनुहोस्।

• यो समयमा परेको पानीले ट्राउट माछामा पातलो पहेँलो दिसा (कक्सिडियोसिस रोग) देखिन सक्ने हुँदा दानामा टोल्ट्राजुरिल १५ मिलिग्राम प्रति के.जी. माछाका दरले भटमासको तेल (०.७% प्रति के.जी. दाना) मा मिसाई खुवाउनुहोस्। पहेंलो दिसासँगै रगत पनि मिसिएको देखिएमा भिटामिन के १०० मिलिग्राम प्रति के.जी. दानामा थप गरि ७ दिनसम्म दिनुहोस्।

• असोज-कात्तिकमा जै घाँस लगाउन तराईका लागि सिफारिस जातहरु: स्वान, अमुरी, केन्ट, कारभिले र मध्यपहाडको लागि सिफारिस जातहरु: ताइको, करिश्मा, केन्ट, नेत्र, कामधेनु, गणेश,पार्वती बीउको समयमै व्यवस्था गर्नुहोस्।

• कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *