स्वर किन्नरी लता मंगेशकरकाे ९२ बर्षको उमेरमा निधन
इन्भेष्टोपेपर । माघ २३, २०७८
काठमाडौँ । भारतकी चर्चित गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा निधन भएको छ । थुप्रै नेपाली गीतमा पनि स्वर दिनु भएकी लता मङ्गेसकरकाे मुम्बइमा आइतबार बिहान ८:१२ मा निधन भएकाे हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।
उहाँलाई गत जनवरीका सुरुमा कोरोना संक्रमण भएपछि मुम्बइको सिटी अस्पातालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणपछि उहाँमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए । जनवरी २८ तारिकमा उहाँलाई भेन्टिलेटरमा राखिएको भए पनि उहाँको स्वास्थ्य अबस्था कम्जोर बन्दै गएको थियो ।
लता मंगेशकरकाे जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो। १३ वर्षको कलिलाे उमेरदेखि गीत रेकर्ड गराउनु भएकी उहाँले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएर रेकर्ड कायम गर्नुभएकाे छ ।
लता मंगेशकरले आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाउनु भएकाे थियाे भने नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित हुनुभएकी थियाे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मङ्गेशकरको निधनले “देशमा कहिल्यै पूर्ण नहुने रिक्तता छोडेको” बताउनु भएकाेछ।

