यूनाइटेड इन्स्योरेन्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न
इन्भेष्टाेपेपर । जेठ २४, २०७९
काठमाण्डाैँ । यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. को २८ औं वार्षिक साधारण सभा जेठ २३ गते अनमोल ब्याङ्गकेट, शंखमुल काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भयो ।
सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७।७८ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७८ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरियो । आर्थिक वर्ष २०७८।७९ का लागी बाह्य लेखापरीक्षक एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरियो ।
कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी समुह (क) तर्फबाट प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालकहरुको र सर्वसाधारण शेयरधनी समुह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको निर्वाचन मार्फत चयन गरियो ।
कम्पनीको चुक्ता पूँजी रु २ अर्ब ५० करोड पुर्याउन यस कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने / गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गरियो ।
कम्पनीे गत आ.व. २०७६/७७ को तुलनामा यस आ.व. २०७७/७८ मा बीमाशुल्क आर्जन ५८ प्रतिशतले वृद्धि भई रु.१,१०,३३,०२,७६९।०५ गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७६/७७ को तुलनामा यस आ.व. २०७७/७८ मा कम्पनीको नाफामा ५ सय प्रतिशत भन्दा बढिले वृद्धि भई रु.१०,५२,९८,८८७।२८ भएको छ ।
साथै आ.व. २०७७/७८ को तेस्रो त्रैमासिक अवधि सम्मको तुलनामा आ.व. २०७८/७९ को सोहि अवधि सम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन ३८ प्रतिशत भन्दा बढीले वृद्धि भई रु.१,२५,५१,१८,०७०।२८ भएको छ । त्यसैगरी सोही अवधिमा खुद नाफा आर्जन ९८ प्रतिशत भन्दा बढिले वृद्धि भएको तथा प्रतिशेयर आय मा ९८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
