एक वर्षमा थपियो ३ खर्ब सार्वजनिक ऋण
इन्भेष्टाेपेपर । साउन ७, २०८३
काठमाडौँ । गएको एक वर्षमा सरकारले तिर्न बाँकी सार्वजनिक ऋण करिब ३ खर्ब थपिएको छ । यससँगै कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।
२०८२ असारमा कुल ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । एक वर्षअघिको तुलनामा गत असार मसान्तमा सार्वजनिक ऋण ३ खर्ब ८५ करोड रुपैयाँ थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ ।
असारसम्मको ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०७ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको अनुपातमा ४३ प्रतिशत कायम गर्ने लक्ष्य तय गरेको छ ।
यद्यपि थपिएको सबै रकम सरकारले ऋण लिएको मात्र होइन । यस अवधिका अमेरिकी डलरलगायत विदेशी मुद्राको मूल्य बढेकाले नेपालले तिर्न बाँकी सार्वजनिक ऋणमा अतिरिक्त भार पर्न थालेको छ । तिर्न बाँकी ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.७७ र आन्तरिक ऋणको ४६.२३ प्रतिशत छ । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।
