आकर्षक गन्तव्य बन्दै ‘थारू सांस्कृतिक सङ्ग्रहालय’

इन्भेष्टाेपेपर ।  साउन ७, २०८३

दाङ ।  दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालय आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्मका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटकसमेत सङ्ग्रहालय अवलोकनका लागि पुग्ने गरेका छन् । सङ्ग्रहालयकी व्यवस्थापक शान्ता चौधरीका अनुसार अवलोकनकर्तामध्ये १३ हजार ३८२ विद्यार्थी, एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्ति छन् ।

थारू समुदायको भाषा, कला, संस्कृति, इतिहास र जीवनशैलीको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएको सङ्ग्रहालयमा देशका विभिन्न भूभागका थारू समुदायको सांस्कृतिक विविधता एकै स्थानमा अवलोकन गर्न सकिन्छ । यहाँ डङ्गौरा, देसौरी, राना, चितवनिया र मोरङ्गिया थारू समुदायका परम्परागत घरका नमुना निर्माण गरिएका छन् । यसै गरी मौलिक वेशभूषा, गरगहना, हस्तकला, कृषि औजार, माछा मार्ने सामग्री तथा परम्परागत कृषि प्रणालीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ ।

सङ्ग्रहालयमा पछिल्लो समय थारू भाषासम्बन्धी पुस्तकको सङ्कलनसमेत विस्तार गरिएको व्यवस्थापक चौधरीले बताउनुभयो । यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा थारू संस्कृति अध्ययन गर्न चाहनेका लागि सङ्ग्रहालयलाई महत्वपूर्ण अध्ययन केन्द्रका रूपमा स्थापित गरेको उहाँको भनाइ छ ।

सङ्ग्रहालयका परिकल्पनाकार तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आधुनिक जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको थारू समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र वेशभूषाको संरक्षणका लागि सङ्ग्रहालय स्थापना गरिएको बताउनुभयो ।

घोराही उपमहानगरपालिका–२ का सुन्दर चौधरीले सङ्ग्रहालयले थारू समुदायको मौलिक पहिचानलाई जीवन्त रूपमा संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँका अनुसार पूर्वदेखि पश्चिमसम्मका थारू समुदायको रहनसहन, संस्कृति, परम्परा र वास्तुकलालाई एउटै स्थानमा अवलोकन गर्न पाउँदा देशव्यापी सांस्कृतिक यात्राको अनुभूति हुन्छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *