कोरोला नाकासम्म ३३ केभीए प्रसारण लाइन

न्भेष्टाेपेपर । माघ २९, २०८१

पोखरा । नेपाल विद्युत् प्राधिकरणले चीन सिमानाको कोरोलासम्म ३३ केभीए क्षमताको विद्युत् प्रसारण लाइन विस्तार सुरु गरेको छ । अहिलेकै गतिमा काम भए आउँदो भदौभित्र कोरोला नाकासम्म पूर्ण क्षमताको बिजुली पुग्ने प्राधिकरणको भनाइ छ । कोरोला नाका समुद्री सतहबाट झन्डै ४६ सय मिटर अग्लो स्थानमा छ । 

अपर मुस्ताङ क्षेत्रमा हाल न्यून क्षमताको (लो भोल्टेज) बिजुली पुगेको छ । यहाँ ‘लो भोल्टेज’ बिजुली गइरहेका कारण स्थानीय समस्यामा छन् । सामान्य हिटर बाल्नसमेत नधान्ने क्षमताको विद्युतीकरणबाट छुटकरा दिन प्रसारण लाइनको क्षमता विस्तार भइरहेको प्राधिकरणले बताएको छ । पहिलो चरणमा १ सय ४ किलोमिटर क्षेत्रमा तार तान्ने काम भइरहेको छ । उक्त क्षेत्रमा ११ मिटर अग्ला २२ सय ६५ वटा पोल गाड्ने काम भइरहेको छ ।

कोबाङदेखि चराङसम्मको करिब १ सय १५ किलोमिटर क्षेत्रमा ‘हाई भोल्टेज’ को विद्युत् लाइन लैजान दुईवटा सबस्टेसन निर्माणको काम अघि बढेको छ । नवलपुर ग्रामीण विद्युतीकरण तथा छुसाङ–मुस्ताङ ३३ केभीए प्रसारण लाइन तथा सबस्टेसन निर्माण आयोजनाले यो काम गरिरहेको हो । यो कामका लागि २८ करोडमा प्याराडाइज हुलास जेकेबी जेभीले पाएको छ ।

अत्यधिक चिसो हुने माथिल्लो मुस्ताङ क्षेत्रमा भोल्टेजका कारण सामान्य हिटरसमेत बाल्दा नधान्ने भएकाले लाइन स्तरोन्नतिका लागि काम भइरहेको प्राधिरकरणका आयोजना प्रमुख विमल राउतले जनाए । पर्यटकको चाप बढेसँगै सरकारले विद्युतीकरणको सुविधा बढाउन आयोजनाले काम गरिरहेको उनको भनाइ छ ।

कोबाङ सबस्टेसनबाट चराङसम्म ३३ केभीए प्रसारणलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको आयोजनाका साइड इन्चार्ज नवराज कडरियाले बताए । चिसोका कारण फलामे पोल गाड्न र तार तान्न असहज भइरहे पनि लाइन विस्तारको काम भइरहेको उनले सुनाए । याे समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *