कस्ताे अचम्म ! एक जोर जुत्ता चार करोड ८० लाखमा बिक्री

Investopaper, श्रावण १०, २०७६ 

नाइकीको सह-संस्थापकले डिजाइन गरेको एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ।

त्यो न्यूयोर्कको एक लिलाममा राखिएका खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो।

सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो।

तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे। बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका हुन्।

सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह-संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए।

यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो।

लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ।

प्रदर्शनमा राखिने

लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेरै खुसी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको ऐतिहासिक अंश भएको बताए।

उनले किनेका सबै जुत्ताहरू टोरन्टोमा रहेको उनको निजी गाडी संग्रहालयमा प्रदर्शनमा राखिने बताएका छन्।

यसअघि कुनै पनि जुत्ताका लागि तिरिएको सबैभन्दा उच्च रकम एक लाख ९० हजार तीन सय ७३ डलर मानिएको छ।

सो रकममा माइकल जोर्डनले सन् १९८४ को ओलिम्पिकको बास्केटबल फाइनलमा लगाएको हस्ताक्षरसहितको कन्भर्स जुत्ता सन् २०१७ मा बिक्री गरिएको थियो।

  • बिबिसी समाचार बाट साभार
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *