मह सेवन पाैष्टिकता र औषधीय दुबै दृष्टिले फाइदाजनक

Investopaper, श्रावण १०, २०७६ 

मौरीले फूलको रस चुसेर त्यसमा अतिरिक्त पदार्थहरू मिलाई चाकामा एकत्र गर्दा बन्ने प्राकृतिक गुलियो पदार्थ हो- मह । पृथ्वीमा पाइने सबैभन्दा पुरानो गुलियो वस्तु हो मह । यसलाई परापूर्वकालदेखि नै मानव स्वास्थ्यका लागि अमृतसमान मानिँदै आएको छ ।

इतिहासमा महः

मह कहिल्यै बिग्रिँदैन । ऐतिहासिक तथ्यहरू अनुसार, सन् १९२३ मा मिश्रको फराओ नूनन खामेनको पिरामिडमा रुसी वैज्ञानिकहरूले महले भरिएको एउटा बट्टा भेटेका थिए, जुन करिव ३३ सय वर्ष पुरानो थियो, तैपनि बिग्रिएको थिएन । त्यसको स्वाद र गुणमा समेत अन्तर भेटिएन ।

महकाे स्वाद र आयुर्वेदिक महत्वः

मौरीको प्रजाति र वनस्पतिको विविधता अनुरूप नै महको रंग, स्वाद र गुणमा अन्तर हुन्छ । मह बन्ने मौसम, ऋतुका कारण पनि यसको गुण प्रभावित हुने आयुर्वेदमा उल्लेख छ ।

मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । यसलाई भगवानकाे आहारा समेत मानिएको छ । आयुर्वेदले महलाई एक प्रकारको खाद्य एवं औषधिका रुपमा लिएको छ ।

महमा पाइने पोषक तत्वः

  • ग्लुकोज ३१.३ प्रतिशत,
  • फ्रुक्टोज ३८.२ प्रतिशत,
  • माल्टोज ७.१ प्रतिशत,
  • सुक्रोज १.३ प्रतिशत,
  • चिनी १.५ प्रतिशत,
  • पानी १७.२ प्रतिशत,
  • भस्म ०.२ प्रतिशत र
  • अन्य रसायन ३.२ प्रतिशत हुन्छन् ।
  • यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, सोडियम, क्याल्सियम, फस्फोरस, आयोडिन, आइरन आदि पाइन्छ ।

महकाे औषधीय प्रयाेजनः

महलाई शक्तिवर्धक र रोग निरोधक क्षमता भएको मानिन्छ । प्राचीनकाल देखि नै महलाई जीवाणुरोधी (एन्टिब्याक्टेरियल) तत्व मानिँदै आएको छ । यसमा भएको एन्टिब्याक्टेरियल, एन्टिमाइक्रोबियल गुणले केही ब्याक्टेरियालाई फैलिन दिँदैन । यसै कारण हाम्रो समाजमा महलाइ पोलेको/काटेको शारीरिक अंग र घाउमा समेत दल्ने गरिन्छ । महमा भएका पौष्टिक तत्त्वबाट घाउ निको पार्न र तन्तुको वृद्धीमा मदत पुग्छ । यसले क्षतिग्रस्त छालाको उपचारमा सघाउँछ ।

  • दम र कफ हटाउनुपरे महको उपयोग निकै राम्रो मानिन्छ ।
  • उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ ।
  • रक्त शुद्धीकरण गर्नलाई पनि मह प्रभावकारी मानिन्छ ।
  • यसको सेवनले पोतो, डन्डिफोर आदि हट्छ र अनुहारमा चमकआउँछ ।
  • महको नियमित सेवनले आन्द्रा र मृगौलासमेत स्वस्थै रहन्छन् ।
  • घाँटी खसखसाए, रुघाखोकी लागे मह मिसाएको चिया वा तातो कागतीपानी खाँदा प्रभावकारी हुन्छ ।

एउटा अध्ययन अनुसार, माथिल्लो सासनलीको संक्रमण भएका दुई वर्ष वा अझ बढी उमेरका बालबालिकालाई सुत्ने बेला दुई चम्चा (१० मिलिलिटर) मह दिँदा रात्रिकालीन खोकी कम हुँदै जान्छ र साथै निद्रा राम्ररी लाग्न थाल्छ । यस्तै, सामान्य रुघाखोकीमा समेत मह प्रभावकारी पाइएको छ ।

सतर्कता / साबधानीः- एउटा दुर्लभ खाद्य विषाक्तता हुने सम्भावनाका कारण एक वर्ष भन्दा कम उमेरका बालबालिकालाई मह दिनु हुँदैन ।

  • विभिन्न अनुसन्धानमूलक लेखहरूबाट
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *