नयाँ बसपार्क भित्र थपियो ५६ टिकट काउण्टर

न्भेष्टाेपेपर । असार २, २०८०

काठमाडौं ।  काठमाडौं भित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन् ।

काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्क भित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि ५६  टिकट काउण्टर थपिएको हो ।

यसअघि काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन हुन थालेपछि त्यहाँ टिकट काउण्टर थपिएको हो ।

काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो ।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की, चाबहिल क्षेत्रमा अव्यवस्थित रूपमा राखिएका टिकट काउण्टर हटाइएको जानकारी दिनुभयो  ।

महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माईक्रोबस तथा जिप नयाँ बसपार्क भित्रबाट सञ्चालन भएका छन् । माइक्रोबस तथा जिपलाई सञ्चालन गर्नका लागि ल्होत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ ।

नयाँ बसपार्क भित्रबाट माइक्रोबस तथा जिपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिले ५६ नयाँ टिकट काउण्टर थप गरेको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले काठमाडौं महानगरपालिकाले गरेको निर्णयको कार्यान्वयनका लागि नयाँ बसपार्कभित्र जिप तथा माइक्रोबसलाई ५६ नयाँ टिकट काउण्टर निर्माण गरिएको बताउनुभयो ।

“नयाँ बसपार्क भित्रबाट सार्वजनिक सवारी साधनलाई व्यवस्थित र भरपर्दो ढङ्गले सञ्चालन गर्नका लागि ल्होत्से बहुउद्देश्यीय प्रालि लागेको छ”, उहाँले भन्नुभयो ।

यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधनमात्र सञ्चालन हुँदै आएका थिए । यसअघि काठमाडौंबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, बेनी, स्याङ्जा वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट बीपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटासुमो सञ्चालन हुँदै आएका थिए ।

काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्नका लागि काठमाडौं महानगरपालिकाले वि.सं. २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठुला सार्वजनिक सवारी साधन पार्किङ गर्नमिल्ने क्षमता रहेको छ ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *