कविता : “कवि महिमा”
-- हृदय लेकाली
छन्द – तोटक
कविता कविको मन हो पन हो
कविता कवि शाश्वत यौवन हो
कविता कविको अवलोकन हो
कविता कवि हर्ष र रोदन हो।
कविता मनले जब लेख्छ कवि
सबको छरप्रष्ट उतार्छ छवि
मनको बह हो कविता कविको
नबुझी नहुने छ कुरा कविको।
कविको कविता गति हो युगको
रचना सृजना मति हो युगको
कवि नै धरती दुनियाँ सब हो
कवि नै जनको भव सागर हो।
अति नै मन सुन्दर भाव जहाँ
कवि खुल्छ सधैँ शुभ प्रात जहाँ
कवि सौरभ हो दिलको युगको
कवि शासक हो उसको युगको।
