६ कराेड मात्रा खाेप आउँदैछ, आवश्यक परे ‘बुस्टर डाेज’ पनि लगाउँछाैँ : मन्त्री खतिवडा

इन्भेष्टोपेपर । मंसिर ४, २०७८

भक्तपुर – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताउनुभएको छ । 

शुक्रवार मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुई दिने राष्ट्रिय भेलामा उहाँले सरकारले ६ करोड डाेज खोपको सुनिश्चितता गरेको बताउनुभयो । मन्त्री खतिवडाले भन्नुभयो, झन्डै एक करोड डोज खोप नागरिकलाई लगाइसकेका छाैँ, विश्व स्वास्थ्य सङ्गठनबाट सहयोगमा आउने २० प्रतिशत खोपबाहेक अरू खोप ल्याउन सरकारले केही सम्झौता गरिसकेको छ, केही सम्झौताको चरणमा छ, नागरिकका लागि ६ करोड डाेज खोप सुनिश्चित गरिसकेका छौँ, अब खोपको अभाव हुँदैन ।

उहाँले १२ वर्षदेखि १८ वर्षका नागरिकका लागि एक करोड खोप सम्झौता भइसकेको जानकारी दिनुभयो । अमेरिकामा पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाएको र भारत तथा चीनमा पनि त्यस्ता खोपको परीक्षण भइरहेकाले त्यो सफल हुनेबित्तिकै १२ वर्षभन्दा तल पाँच वर्षसम्मका बालबालिकाका लागि पनि खोप ल्याउने उहाँको भनाइ छ ।

उहाँले दुई डोज खोप दिएर नपुग्ने भन्दै तेस्रो डोज खोज बुस्टर लगाउनुपर्ने चर्चा चलिरहेकाले त्यसबारेमा पनि सरकारले छलफल चलाएको र आवश्यकता परे तेस्रो डोज दिनका लागि बुस्टर खोप पनि ल्याइने बताउनुभयो । 

मन्त्री खतिवडाले स्वास्थ्य बीमा भुक्तानीको व्यवस्थापनमा आएको चुनौतीलाई पन्छाउँदै सरकारले बीमाको बाँकी भुक्तानी छिटै गर्ने बताउँदै प्रत्येक नागरिकलाई अहिले तिरेको तीन हजार पाँच सय रुपैयाँ पनि नतिर्ने गरी निःशुल्क स्वास्थ्य बीमा गराउन कति बजेट लाग्छ भनेर अध्ययन भइरहेको जानकारी दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *