मध्य भोटेकोशीको ९० लाख कित्ता आइपीओको बिक्री खुला
इन्भेष्टोपेपर । आश्विन २०, २०७८
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आजबाट साधारण शेयर(आइपीओ) विक्री खुला भएकाृे छ । कम्पनीले सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको १०० दरको ९० लाख कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।
कम्पनीको कुल सेयरमध्ये ५ प्रतिशत अथवा ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आज १० बजेबाट उक्त कम्पनीको शेयरमा आवेदन दिन सकिने छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था रहेकाे छ। कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । यसको आवेदन दिने अन्तिम समय छिटाेमा असोज २५ गतेसम्म रहने छ र सम्पूर्ण कित्ता बिक्री नभएमा कात्तिक ३ गते सममकाे समय थप गरिने छ ।
सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ भने आयोजना प्रभावित स्थानिय सहित सिन्धुपाल्चोक जिल्लाका वासिन्दाहरु समेतमा ६० लाख कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी ६ अर्ब रुपैयाँ पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
