इनार खन्दा फेला पर्यो एक विशाल नीलमणि, मूल्य करिब १२ अर्ब पर्ने अनुमान
इन्भेष्टोपेपर । श्रावण १३, २०७८
श्रीलङ्कामा संसारकै सबैभन्दा ठूलो ‘स्टार सफायर’ भनिने एक प्रकारको नीलमणि फेला परेको अधिकारीहरूले बताएका छन्।
उक्त बहुमूल्य रत्न संयोगले भेटिएको हो। रत्नपुर क्षेत्रमा आफ्नो घरपछाडि इनार खन्न लाग्दा कामदारहरूले ५१० केजी तौल भएको रत्न एकैढिक्कामा फेला पारेको एक रत्नव्यापारीले बीबीसीलाई बताएका छन्।
रत्नपुरमा बहुमूल्य रत्न भेटिने गरेको छ। स्थानीय सिन्हला भाषामा रत्नपुरको अर्थ संस्कृतमा जस्तै रत्नहरूको सहर भन्ने हुन्छ। विगतमा पनि त्यहाँ अन्य बहुमूल्य पत्थरहरू फेला परेका थिए।
हल्का नीलो रङ्गको उक्त मणिले अन्तर्राष्ट्रिय बजारमा १० करोड अमेरिकी डलरसम्म अर्थात् झन्डै १२ अर्ब नेपाली रुपैयाँसम्म मूल्य पाउने विज्ञहरूको भनाइ छ। उक्त विशाल रत्नलाई “सेरन्डिपिटी सफायर” नामकरण गरिएको छ।
“इनार खनिरहेका एक कामदारले हामीलाई केही दुर्लभ पत्थरबारे जानकारी दिए। पछि हामीले यो विशाल वस्तु भेट्यौँ,” उक्त मणिको स्वामित्व भएका गामागेले बीबीसीलाई बताए।
गामागेका बाबुबाजेले पनि रत्नको व्यापार गर्थे। सुरक्षाका कारण उनले आफ्नो पूरा नाम र ठेगाना बताएनन्।
प्रसिद्ध रत्नविद् डा. गामिनी जोयसाले आफूले पहिला कहिल्यै त्यति ठूलो रत्न नदेखेको बीबीसीलाई बताए। “सम्भवतः त्यो ४० करोड वर्षअघि बनेको हुनुपर्छ,” उनले भने।
उक्त पत्थर बहुमूल्य भए पनि भित्र भएको सबै द्रव्य उच्चगुणस्तरीय नहुन पनि सक्ने केही विज्ञहरूको धारणा छ।
— बीबीसीबाट
