राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन
इन्भेष्टोपेपर । श्रावण १३, २०७८
काठमाडौं — सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध सङ्ग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएकाे छ। भण्डारीले बुधबार सिन्धुलीस्थित कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाद्वारा निर्मित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गर्नुभएकाे हाे।
सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ।
सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गर्नुभएकाे थियाे। नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको जानकारहरु बताउँछन्।
नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको गरिएको छ। सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो। (रासस)
