अफगानिस्तानलाई आर्थिक सहयताकाे खाँचाे रहेकाे जि-२० राष्ट्रकाे ठहर
इन्भेष्टोपेपर । आश्विन २८, २०७८
रोम । अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि-२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताउनुभएको हो ।
उक्त बैठकपछि उहाँले समाचारदाताहरुसँग भन्नुभयो– हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ ।
इटालीले अफगानिस्तानको विषयलाई लिएर जि-२० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जि-२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए ।
विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समुह जि-२० को भर्चुएल सम्मेलनलाई संवोधन गर्दै नेताहरुले अफगानिस्तानलाई आर्थिक प्रलयबाट जोगाउन अरबौं डलर सहायता चाहिने आवश्यकता औल्याउनु भएकाे थियाे ।
अफगानिस्तानमा ठूलो आर्थिक प्रलय आउनसक्ने चेतावनी विश्वका नेताहरुले दि दिँदै सहयोगको लागि अन्य मुलुकहरुलाई समेत आव्हान गरेका छन् । जर्मन चान्सलर एन्जेला मर्केलले अफ्गानिस्तानलाई यस्तै अन्यौलको भुमरीमा छोड्न नहुने बताउनु भयाे ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफ्गानिस्तानको तालिवान शाषकलाई नभएर अफ्गान नागरिकको लागि स्वतन्त्र दातृ निकाय र संगठनमार्फत सहयोग गर्नुपर्ने बताउनु भयाे ।
गत अगस्टमा अमेरिकी सेना फिर्ता भएसँगै तालिवानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि मानविय संकट उत्पन्न भएको छ । विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन् । यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ ।तत्कालका लागि औषधि र खानाका लागि ठूलो सहयोग आवश्यक रहेकाे राष्ट्रसंघले जनाएको छ । (एजेन्सी)
