वित्तीय संस्थाका संचालक र सीईओ हुन उमेर हदकाे सीमा कायम
Investopaper, श्रावण २१, २०७६
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र संचालकको लागि उमेर हदकाे सीमा कायम गरेकाे छ । अब तीनै वर्गका वित्तीय संस्स्थाकाे संचालक हुनका लागि ७० वर्ष र प्रमुख कार्यकारी अधिकृतका लागि ६५ वर्ष उमेर हद तोकिएको छ ।
राष्ट्र बैंकको नयाँ व्यवस्था अनुसार ७० वर्ष नाघेको व्यक्ति इजाजतप्राप्त संस्थाको संचालक पदमा नियुक्त, पुनःनियुक्त तथा मनोनित हुन योग्य हुने छैनन । साथै ७४ वर्ष नाघेको व्यक्ति संचालक पदमा बहाल रहन सक्ने छैन ।
त्यस्तै, ६५ वर्ष नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त वा पुनःनियुक्त हुन योग्य नहुने र ६९ वर्ष नाघेको व्यक्ति प्रमुख कार्यकारी अधिकृत पदमा बहाल रहन नसक्ने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र वैंकले जारी गरेकाे निर्देशन अनुसार हालसम्म नियुक्त भैसकेका संचालक ७४ वर्ष नपुग्दासम्म पदमा वहाल रहन सक्नेछन भने सीईओ ६९ वर्षसम्म । अब ७४ वर्ष काटिसकेका संचालक तथा ६९ वर्ष पुगिसकेका सीईओले भने कम्पनीबाट विदा लिनु पर्ने छ ।